देश

पिपलको छहारीमुनि ३० वर्षदेखि निःशुल्क ‘ट्युसन’, विपन्न बालबालिकाका लागि चन्द्र सरको खुल्ला विद्यालय

धरान (सुनसरी)। पिपलको छहारीमुनि प्लास्टिकका म्याट र बोरा विछ्याइएका छन्। रुखमा अड्याइएको बोर्डमा लेखिएको छ— ‘श्री पिपलबोटे खुल्ला विद्यालय’।

हरेक बिहान ७ बजे नर्सरीदेखि कक्षा ७ सम्मका ३०–३५ जना बालबालिका किताब, कापी र कलम बोकेर यहाँ आइपुग्छन्। उनीहरूलाई पढाइमा सहयोग गर्ने व्यक्ति हुन् चन्द्र भण्डारी, जसलाई स्थानीयले प्रेमपूर्वक ‘चन्द्र सर’ भनेर चिन्ने गर्छन्।

इटहरीस्थित टेङ्ग्रा खोलाको किनारछेउको गल्लीमा तीन दशकभन्दा बढी समयदेखि खुला आकाशमुनि सञ्चालन भइरहेको यो सिकाइ केन्द्र कुनै दर्ता भएको औपचारिक विद्यालय होइन। यो चन्द्र भण्डारीको व्यक्तिगत पहल, अदम्य इच्छाशक्ति र विपन्न बालबालिकाप्रतिको समर्पणबाट निरन्तर चलिरहेको शैक्षिक अभियान हो।

संघर्षले जन्माएको सेवाभाव

धनकुटाको कागतेमा सामान्य परिवारमा जन्मिएका भण्डारी बाल्यकालदेखि नै अभाव र संघर्षसँग परिचित थिए। आर्थिक कठिनाइका कारण आफ्नै पढाइ अधुरै रह्यो। २०४४ सालमा इटहरी झरेपछि उनले ग्यारेज, कपडा व्यापार हुँदै बाँसको व्यवसाय थाले।

यही क्रममा उनले स्कुल जाने उमेरका बालबालिका बाँसका चाङ वरिपरि धुलोमाटोमा खेलिरहेको देखे। त्यस दृश्यले उनको आफ्नै अधुरो बाल्यकाल सम्झाइदियो।
उनी भन्छन्, “गरिबीले मेरो पढाइ छुट्यो, यी बालबालिकाको पनि भविष्य त्यसै नहोस् भन्ने लाग्यो।”

त्यसपछि उनले सुरुमा १० जना बालबालिकालाई बिहान–बेलुका दुई–तीन घण्टा निःशुल्क पढाउन थाले। यही सानो प्रयास पछि विस्तारै ‘पिपलबोटे खुल्ला विद्यालय’ का रूपमा विकसित भयो।

कटेज भत्कियो, कक्षा भने रोकिएन

सुरुमा खोला किनारमा सानो टहरो बनाएर कक्षा चलाइन्थ्यो। तर २०६० सालमा त्यो टहरो भत्किएपछि पनि पढाइ रोकिएन। बालबालिकाले घरबाट बोरा ल्याएर भुइँमा विछ्याए, र कक्षा खुला आकाशमुनि नै जारी रह्यो।

बर्खाको भेलबाढी, हिउँदको कठ्याङ्ग्रिने चिसो, घाम वा धुलो— कुनै पनि चुनौतीले चन्द्र सरको कक्षा रोकेको छैन। कोभिड–१९ महामारीका बेला समेत उनले घरबाटै अनलाइन कक्षा सञ्चालन गरेका थिए।

अहिले दैनिक ३०–३५ जना बालबालिका नियमित रूपमा यहाँ ट्युसन पढ्न आउँछन्। अधिकांश विद्यार्थी मकै पोल्ने, बदाम बेच्ने, जुत्ता पालिस गर्ने, रिक्सा चलाउनेजस्ता श्रमिक परिवारका छोराछोरी हुन्।

पढाइसँगै हौसला र सहयोग

भण्डारी केवल पढाउने काममा सीमित छैनन्। जन्मदिनका अवसरमा बालबालिकालाई कापी, कलम र पुस्तक उपहार दिने गर्छन्। विभिन्न सहयोगी हातहरूले शैक्षिक सामग्री र लत्ताकपडासमेत उपलब्ध गराउने गरेका छन्।

उनी भन्छन्, “घामपानी छल्ने एउटा व्यवस्थित ठाउँ पाए अझ राम्रोसँग पढाउन सकिन्थ्यो।”

समाजको सम्मान, सेवाको निरन्तरता

चन्द्र भण्डारीको निस्वार्थ सेवाको कदर गर्दै विभिन्न संघसंस्था, विद्यालय र कलेजले उनलाई सम्मान गरिसकेका छन्। उनले ‘युएसए–नेपाल ह्युमानिटेरियन सर्भिस अवार्ड २०१७’ समेत प्राप्त गरेका छन्।

तर उनका लागि सम्मानभन्दा ठूलो कुरा बालबालिकाको सिकाइ र मुस्कान हो।
उनी भन्छन्, “कर्म गर्नु मेरो कर्तव्य हो, फलको आशा गरेको छैन। स्वास्थ्यले साथ दिएसम्म पढाइरहन्छु।”

तीन दशकभन्दा बढी समयदेखि पिपलको छहारीमुनि निरन्तर बलिरहेको यो शिक्षाको दीपक आज पनि विपन्न बालबालिकाका भविष्य उज्यालो बनाइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *