चौतारा (सिन्धुपाल्चोक)। सुख्खायाम सुरु भएसँगै हावाहुरी बढ्ने भएकाले जिल्लाका सामुदायिक तथा निजी वनमा हुनसक्ने डढेलो नियन्त्रण गर्न अग्नि नियन्त्रण रेखा निर्माण थालिएको छ।
जिल्लामा सम्भावित वन डढेलो रोक्न अग्नि नियन्त्रण रेखा निर्माणसहित अन्य प्रभावकारी उपाय अपनाइएको डिभिजन वन कार्यालयले जनाएको छ। वन डढेलोको जोखिम न्यून गर्न सामुदायिक तथा निजी वनमा अग्निरेखा निर्माण, ज्वलनशील घाँसदाउरा, पातपतिङ्गर तथा अन्य सुक्खा पदार्थ हटाउने काम तीव्र पारिएको कार्यालयका अधिकृत रमेश दुलालले जानकारी दिए।
हाल जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरू वनलाई डढेलोबाट जोगाउन अग्निरेखा निर्माणमा व्यस्त छन्। बस्ती नजिकका निजी तथा सामुदायिक वन र जोखिमयुक्त क्षेत्रहरूमा ज्वलनशील पदार्थ हटाउने कामसमेत भइरहेको छ।
सिन्धुपाल्चोकमा ५३० सामुदायिक वन रहेको उल्लेख गर्दै वन अधिकृत दुलालले धेरै वन क्षेत्रमा यसअघि नै अग्निरेखा रहेको र कतिपय स्थानमा थप निर्माण सुरु गरिएको बताए। विगतमा यस्ता अग्निरेखाले धेरै वन क्षेत्रलाई डढेलोबाट जोगाउन प्रभावकारी भूमिका खेलेको उनको भनाइ छ।
अहिले चौतारा, मेलम्ची, नवलपुर, जलवीरे, डाँडापाखारलगायत ६ वटा सवडिभिजन कार्यालयले जोखिममा रहेका वन छनोट गरी प्रतिवन रु १ लाखका दरले बजेट विनियोजन गरेका छन्। यसमा २० प्रतिशत लागत सामुदायिक वनको सहभागिताबाट व्यहोर्ने व्यवस्था गरिएको छ।
डिभिजन वन कार्यालयका अनुसार हाल जिल्लाका करिब १०० वन क्षेत्रमा अग्नि नियन्त्रण रेखा निर्माण गरिएको छ। प्रत्येक सामुदायिक वनमा करिब १,२०० मिटर लम्बाइ र ५ मिटर चौडाइमा अग्निरेखा बनाइँदैछ, जसले एक ठाउँमा लागेको आगो अर्को क्षेत्रमा फैलिन नदिने र ठूलो क्षति हुनबाट जोगाउने अपेक्षा गरिएको छ।
सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुपाल्चोकका अध्यक्ष सारदाप्रसाद सापकोटाका अनुसार अग्निरेखा निर्माणले वन, वन्यजन्तु र चराचुरुङ्गी संरक्षणमा सहयोग पुर्याउनुका साथै स्थानीयलाई रोजगारीसमेत दिएको छ। फागुनदेखि जेठसम्म हावाहुरी चल्ने, पुराना पात झर्ने र नयाँ पालुवा पलाउने मौसम भएकाले जङ्गलमा डढेलोको जोखिम बढ्ने हुँदा पूर्वतयारी तीव्र पारिएको उनले बताए।




