देश

जनपक्षीय काममा सरकारलाई समर्थन, कानुन मिचिए काँग्रेसले खबरदारी गर्ने

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले सरकारले ल्याउने जनपक्षीय कार्यक्रम तथा कामहरूलाई समर्थन गर्ने, तर विधि र कानुन मिचिएमा कडा रूपमा सचेत गराउने निर्णय गरेको छ।

नयाँ निर्वाचित संसद्को पहिलो संयुक्त संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रियसभा सांसद कृष्णबहादुर रोकायले उक्त जानकारी दिएका हुन्।

सिंहदरबारमा बसेको बैठकमा पार्टीको आगामी भूमिका, संसद्मा सांसदहरूको सक्रियता तथा जनताका जल्दाबल्दा मुद्दा प्रभावकारी रूपमा उठाउने विषयमा घनिभूत छलफल भएको उनले बताए। उनका अनुसार सरकारले जनता र देशको हितमा ल्याउने हरेक जनपक्षीय कदममा काँग्रेसले समर्थन जनाउनेछ।

तर, यदि सरकारले विधि, कानुन र संवैधानिक प्रक्रिया मिचेर जनता तथा राष्ट्रलाई अहित हुने कुनै विषय अघि बढाएमा काँग्रेसले कडा खबरदारी गर्ने रोकायको भनाइ छ। बैठकमा संसद्मा पार्टीको उपस्थितिलाई अझ प्रभावकारी र सशक्त बनाउने उपायबारे पनि सांसदहरूबीच छलफल भएको थियो।

रोकायले भने, “नयाँ निर्वाचित संसद्को पहिलो संयुक्त संसदीय दलको बैठकमा नेपाली काँग्रेसले आगामी दिनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा साझा धारणा बनाएको छ। सांसदहरूले आफ्नो भूमिका सक्रियतापूर्वक निर्वाह गर्ने, जनताका जल्दाबल्दा समस्या उठाउने र सरकारका जनहितकारी कदमलाई समर्थन गर्ने निर्णय गरेका छन्। तर विधि र कानुन मिचेर देशलाई अहित हुने काम भए काँग्रेसले सचेत गराउनेछ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *