काठमाडौं । प्रि-मनसुन अवधिमा हालसम्म देशभर औसतभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनका अनुसार यस वर्ष पनि मङ्गलबारसम्मको अवधिमा हुनुपर्ने औसतभन्दा बढी वर्षा मापन भइसकेको छ ।
“हालसम्म करिब २९ दशमलव पाँच प्रतिशत वर्षा भइसकेको छ । यस अवधिमा सामान्यतया २० प्रतिशत मात्र वर्षा हुने गर्दछ”, उनले भनिन् “फागुन १५ गतेदेखि जेठ १५ गतेसम्मको अवधिलाई प्रि-मनसुन मानिन्छ । यस समयमा करिब २२६ मिलीमिटर वर्षा हुनुपर्नेमा मङ्गलबारसम्म ७७ दशमलव पाँच मिलीमिटर वर्षा भइसकेको छ ।”
जल तथा मौसम विज्ञान विभागका अनुसार हालको मौसम प्रणालीमा सामान्य बदली देखिएको छ । विभागले दिएको विवरणअनुसार मङ्गलबारको तुलनामा आज तापक्रममा वृद्धि भएको छ ।
राजधानी काठमाडौँसहित उपत्यकामा आज दिउँसोको अधिकतम तापक्रम २५ डिग्रीसेल्सियस पुगेको जनाउँदै महर्जनले सोही अवधिमा मङ्गलबार २२ डिग्रीसेल्सियस तपक्रम रहेको बताइन् ।
मौसमविद् महर्जनका अनुसार बिहीबार ९भोलि०सम्म मौसम सामान्यतया सफा रहनेछ भने शुक्रबारदेखि फेरि वर्षा हुने सम्भावना छ । यसैबीच, विभागले मौसम परिवर्तनशील रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।




