काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो डिजिटल हिंसाविरुद्ध एक युवतीको आवाज अब कानुनी प्रक्रियातर्फ मोडिएको छ। अमिसा पराजुलीले आफूविरुद्ध आएको अश्लील टिप्पणी, गालीगलौलज र यौन हिंसासम्बन्धी धम्कीविरुद्ध साइबर ब्यूरोमा औपचारिक उजुरी दर्ता गराएकी छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पक्राउविरुद्ध आयोजित प्रदर्शनमा सार्वजनिक रूपमा धारणा राखेपछि अमिसा अचानक सामाजिक सञ्जालको केन्द्रमा आइन्। तर, विचारमाथि बहस हुनुपर्ने ठाउँमा उनी व्यक्तिगत आक्रमणको निशाना बनिन्। सामान्य असहमति मात्र होइन, बलात्कारसम्म गर्ने धम्की, अश्लील सन्देश र अपमानजनक टिप्पणीहरूको वर्षा भएपछि उनले त्यसलाई कानुनी चुनौती दिने निर्णय लिइन्।
एक दिनमै सामाजिक सञ्जालमा भाइरल बनेकी अमिसाको जीवन त्यसपछि पूर्ण रूपमा बदलिएको छ। अन्जान नम्बरबाट आएका फोन, धम्कीपूर्ण सन्देश र नक्कली अकाउन्टहरूले उनको दैनिक जीवन प्रभावित बनेको छ। सार्वजनिक रूपमा हिँडडुल गर्नसमेत असहज अवस्था सिर्जना भएपछि उनले आफ्ना सामाजिक सञ्जाल अकाउन्टहरू निजी बनाएकी छन् भने बाहिर निस्कँदा समेत सावधानी अपनाउन बाध्य भएकी छन्।
उनका अनुसार , असहमति व्यक्त गर्नु लोकतान्त्रिक अधिकार हो। तर, त्यसको जवाफ यौन हिंसाको धम्कीबाट दिनु केवल व्यक्तिगत हमला मात्र होइन, सामाजिक रोगको संकेत हो। विशेषगरी महिलामाथि हुने यस्तो डिजिटल आक्रमणले लैंगिक असमानता अझै गहिरो रहेको देखाएको विश्लेषण हुन थालेको छ। नेपाल प्रहरी साइबर ब्यूरो मा दर्ता भएको उजुरीपछि अब सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान सुरु हुने अपेक्षा गरिएको छ। अमिसाले आफूले पाएका सबै प्रमाण—स्क्रिनसट, आईडी र सन्देशहरू—संकलन गरेर कारबाहीको माग गरेकी छन्। तर, यस्ता घटनामा प्रायः ढिलासुस्ती हुने गरेको गुनासोबीच यस पटकको कारबाही कत्तिको प्रभावकारी हुन्छ भन्ने चासो पनि उत्तिकै छ।
अमिसा पराजुली को कदम केवल व्यक्तिगत प्रतिरोध मात्र होइन, डिजिटल सुरक्षासम्बन्धी ठूलो बहसको संकेत पनि हो। यदि यस्ता घटनामा दोषीमाथि कारबाही हुन सकेन भने सामाजिक सञ्जाल अभिव्यक्तिको माध्यमभन्दा बढी डरको थलो बन्ने खतरा छ। त्यसैले यो मुद्दा अब एक व्यक्तिको मात्र होइन, सुरक्षित डिजिटल समाज निर्माणको परीक्षा बनेको छ।




