देश

पूर्व गृहमन्त्री रमेश लेखकको बयान सुरु, सरकारी वकिल कार्यालयमा अनुसन्धान जारी

काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेखकको बयान आजदेखि जिल्ला सरकारी वकिलको कार्यालयमा सुरु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकृतका अनुसार मंगलबार दिउँसोदेखि उनको बयान लिने कार्य जारी रहेको हो।

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते तत्कालीन गृहमन्त्रीको हैसियतमा गरिएको कामकारबाही सम्बन्धी विषयमा उठेका प्रश्नमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले लेखकलाई ५ दिनको म्याद थप दिएको थियो।

सरकारले गठन गरेको जाँचबुझ आयोगले लेखकमाथि अनुसन्धान गर्न सिफारिस गरेपछि सोही आधारमा प्रक्रिया अघि बढाइएको हो। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत अनुसन्धानको दायरामा ल्याउन सुझाव दिएको थियो।

उक्त सिफारिसअनुसार गत शनिबार बिहान ओली र लेखक दुवैलाई पक्राउ गरिएको थियो। त्यसयता अनुसन्धान टोलीले घटनासँग सम्बन्धित निर्णय, आदेश र सुरक्षा निकायको परिचालनबारे बयान तथा प्रमाण संकलनलाई तीव्र बनाएको जनाएको छ।

स्रोतका अनुसार आजको बयानमा आन्दोलनका क्रममा जारी गरिएका निर्देशन, सुरक्षा संयन्त्रको परिचालन र त्यसबाट उत्पन्न घटनाक्रमबारे लेखकसँग सोधपुछ केन्द्रित गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *