काठमाडौं । अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि जारी गर्दै आएको ‘ट्राभल एड्भाइजरी’ को जोखिम स्तर घटाएको छ । नयाँ सरकार गठन भएसँगै अमेरिकाले नेपालको सुरक्षा स्थितिमा सुधार आएको भन्दै जोखिम स्तरलाई (लेभल २) मा झारिएको जनाएको छ ।
अद्यावधिक गरिएको एड्भाइजरीमा सन् २०२५ को सेप्टेम्बरदेखि सुरु भएका देशव्यापी प्रदर्शनहरू हाल रोकिएको र समग्र सुरक्षा स्थिति स्थिर रहेको उल्लेख गरिएको छ। यद्यपि, विशेषगरी सहरी क्षेत्रहरूमा पूर्वसूचना विना नै अचानक प्रदर्शन र स्थानीय अशान्तिहरू अझै पनि हुन सक्ने र ती छिट्टै हिंसात्मक बन्न सक्ने सम्भावना रहेकोतर्फ अमेरिकी सरकारले आफ्ना नागरिकलाई सचेत गराएको छ।
यस्ता सम्भावित जोखिमबाट बच्न ठूला भिडभाडबाट टाढा रहन र स्थानीय अधिकारीहरूको निर्देशन कडाइका साथ पालना गर्न सुझाव दिएको छ ।
त्यस्तै, काठमाडौं उपत्यकासहित देशका कुनै पनि भागमा अचानक भूकम्प जान सक्ने तथा जुनदेखि सेप्टेम्बरसम्मको मनसुनयाममा भारी वर्षाका कारण आउने बाढी तथा पहिरोले सडक अवरुद्ध हुने र आपतकालीन उद्धारमा समेत कठिनाइ हुन सक्ने अवस्थाप्रति सचेत गराइएको छ ।




