दोधारा चाँदनी (कञ्चनपुर)। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ नम्बर वडा कार्यालयको ताला आठ दिनपछि खुलेको छ ।
गत साता वडाका स्थानीयले सडक निर्माण, ढल निकास र खानेपानीलगायतका माग राखेर वडा कार्यालयमा तालाबन्दी गरेका थिए । बुधबार स्थानीय र वडा कार्यालयबीच स्थानीयका माग सम्बोधन गर्ने सहमति भएपछि वडा कार्यालयको ताला खुलेको वडा सदस्य मीना कुँवरले जानकारी दिनुभयो । “वडाका एक सातादेखि तालाबन्दी हुँदा सेवाग्राही समस्यामा परेका थिए”, उहाँले भन्नुभयो, “स्थानीयका जायज माग सम्बोधन गर्ने सहमति गरेर वडाको सेवा सञ्चालन भएको छ ।”
कार्यालय बन्द हुँदा दैनिक रूपमा आवश्यक पर्ने सिफारिस, प्रमाणपत्र, जन्मदर्तालगायतका काम पूर्ण रूपमा बन्द हुँदा सेवाग्राहीले दुःख पाएको यहाँका स्थानीय डबलबहादुर सिंहले बताउनुभयो ।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले नागरिकका माग सम्बोधन भएर प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो । “उहाँहरूले सडक निमार्णको माग गर्नुभएको थियो, पालिकाबाट उक्त माग सम्बोधन भएर प्रक्रिया अघि बढिसकेको छ”, उहाँले भन्नुभयो, “पालिकाबाट सम्भव नभएका योजना प्रदेशको बजेटबाट पूरा गर्छौँ ।”




