देश

नेपाली कांग्रेसले ७ वटै प्रदेशमा उम्मेदवारहरुसँग निर्वाचन समीक्षात्मक कार्यक्रम गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनकाबारेमा १६५ वटै निर्वाचन क्षेत्रमा समीक्षा कार्यक्रम आयोजना गर्ने भएको छ ।

चैत १० र ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो सन्दर्भमा ७ वटै प्रदेशमा उम्मेदवारहरुसँग निर्वाचन समीक्षात्मक छलफल र केन्द्रीय प्रतिनिधिको उपस्थितिमा १६५ वटै क्षेत्रमा क्षेत्रगत अध्ययन र समीक्षा गर्ने भएको हो ।

त्यसका लागि कोशी प्रदेशको विराटनगर चैत २३ गते डा. डिला संग्रौला पन्त, मधेश प्रदेशको जनकपुरमा चैत २५ गते फरमूल्लाह मन्सुर, बागमती प्रदेशको हेटौडामा वैशाख ७ गते बहादुरसिंह लामा, गण्डकी प्रदेशको पोखरामा चैत २७ देवराज चालिसे, लुम्बिनी प्रदेशको दाङमा चैत २९ गते योगेन्द्र चौधरी, कर्णाली प्रदेशको सुर्खेतमा वैशाख ३ गते कर्णबहादुर बुढा र सुदूरपश्चिम प्रदेशको कैलालीमा वैशाख ५ गते प्रकाश रसाइली स्नेहीलाई खटाएको छ ।

कार्यक्रमलाई सफल र प्रभावकारी बनाउनका लागि प्रदेशमा तोकिएका संयोजकसँग आवश्यक समन्वय गरी सम्बन्धित प्रदेश अन्तर्गत रहने केन्द्रीय कार्यसमितिका सदस्यहरु, प्रदेश कार्यसमितिका पदाधिकारीहरु, जिल्ला सभापतिहरु, प्रतिनिधि सभा क्षेत्रीय सभापतिहरु, प्रदेश सभा सदस्यहरु, प्रदेश सभा क्षेत्रीय सभापतिहरु र प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरुको उपस्थितिमा सम्बन्धित जिल्ला कार्यसमितिले कार्यक्रमको व्यवस्थापन गर्ने कांग्रेसले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *