काठमाडौं । नेपाली कांग्रेसमा शक्ति सन्तुलन र आन्तरिक रणनीति सम्वन्धी बहसले नयाँ उचाई प्राप्त गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले पूर्णबहादुर खड्का नेतृत्वको इतर समूहको भेलालाई लक्षित गर्दै, “असहमति मर्यादित संवादबाट बाहिर गएर आत्मकेन्द्रित गतिविधिमा रूपान्तरण हुँदा पार्टीलाई न्याय हुँदैन” भन्दै पूर्वसंस्थापन समुहलाई होच्याउदै अभिव्यक्ति सार्वजनिक गरेपछि कांग्रेसभित्र आरोप प्रत्यारोप सुरु भएको हाे । कांग्रेसभित्र यो विवाद आजको होइन्,विशेष महाधिवेशनदेखि नै कांग्रेसभित्र विवाद छ । चालिसेको टिप्पणीले पार्टीभित्रको असन्तुष्टि र आन्तरिक विभाजनको सवाललाई उजागर गरेको छ। उनले महाधिवेशन नजिकिँदै गर्दा नेताहरूले स्पष्ट योजना, सकारात्मक ऊर्जा र अनुशासनको पालना गर्दै कार्यकर्ताको मन जित्नुपर्ने औँल्याए। उनका अनुसार आजका कर्मले भोलि आफैंलाई लज्जित नपारोस् भन्ने सोचका साथ अघि बढ्नु आवश्यक छ। यद्यपि, कांग्रेसको पूर्वसंस्थापन इतर समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको बाक्लो सहभागितासहित होटल स्मार्ट, धुम्बाराहीमा अनौपचारिक भेला जारी राखेको थियो । उक्त भेलापछि प्रवक्ता चालिसेले पूर्व संस्थापन पक्षलाई चिस्याउने गतिविधिका साथ सो अभिव्यक्ति दिएको विश्लेषन भइरहेको छ। भेलामा पूर्णबहादुर खड्का, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह लगायत शीर्ष नेताहरूको उपस्थितिले यस समूहको संगठनात्मक शक्ति र प्रभावलाई स्पष्ट संकेत गरेको छ।
विश्लेषकहरूले यसलाई पार्टीभित्रको शक्ति सन्तुलन र रणनीतिक समीकरण तय गर्ने एउटा महत्वपूर्ण चरणको रूपमा हेरिरहेका छन्। गुरु बरालका अनुसार, “भेलाले ध्रुवीकरण बढाउनेभन्दा पनि पार्टी एकताबद्ध गर्न सहयोग पुर्याउने उद्देश्य राखेको हो,” तर वास्तविकतामा यस्तो भेटघाटले आन्तरिक द्वन्द्वलाई बढाउने सम्भावना पनि बोकेको छ। यस्तै सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले भने, गगन थापा पक्षभन्दा आफ्नो समूह बलियो भएको दाबी गर्दै, “कसैलाई निषेध गरेर बलियो हुने अवस्था छैन। पार्टीभित्रका सबै धारले सहनशीलताका साथ एकताको बाटो रोज्नुपर्छ” भन्दै स्पष्ट सन्देश दिएका छन्।
यस परिस्थितिले कांग्रेसभित्रको परिपक्व संवाद र नेतृत्व व्यवहारको चुनौती उजागर गरेको छ। चालिसेको चेतावनी र पूर्णबहादुर समूहको सक्रियता बीचको द्वन्द्वले महाधिवेशनसम्म पार्टी अनुशासन, शक्ति सन्तुलन र आन्तरिक सहकार्य कसरी कायम रहन्छ भन्ने विषयमा महत्वपूर्ण संकेत दिएको छ। विश्लेषकहरूका अनुसार, वर्तमान गतिविधि केवल शक्ति प्रदर्शन मात्र नभई पार्टीको दीगो रणनीति र आन्तरिक लोकतान्त्रिक अभ्यासको परीक्षण पनि हो। निष्पक्ष र पारदर्शी संवाद विहीन समूहगत सक्रियता पार्टीलाई अस्थिरता तर्फ धकेल्न सक्ने सम्भावना उच्च छ।
चालिसे र बलायरका टिप्पणीहरूले स्पष्ट पार्छन् कि नेपाली कांग्रेस अहिले संस्थागत अनुशासन र आन्तरिक शक्ति सन्तुलनको तनावको अवस्थामा छ। पार्टी भित्रको असहमति केवल फरक मतको विषय नभई, नेतृत्व र कार्यकर्ता स्तरमा रणनीतिक नियन्त्रण र अधिकारको द्वन्द्वको रूपमा देखिन थालेको छ। यसरी, पार्टी प्रवक्ताको आलोचना, पूर्वसंस्थापन समूहको सक्रियता र सुदूरपश्चिम सभापतिको बलियो दाबीले कांग्रेसभित्रको राजनीतिक वातावरणलाई आलोचनात्मक विश्लेषणका लागि पर्याप्त संकेत दिएको छ, जहाँ महाधिवेशनसम्म दलको एकता, अनुशासन र आन्तरिक संवाद कसरी कायम रहन्छ भन्ने प्रश्नको उत्तर खोजिन बाँकी छ।
मुलुकको जटिल बन्दै गएको राजनीतिक अवस्थाबीच नेपाली कांग्रेसका शीर्ष नेताहरूले भावी रणनीति तय गर्न आन्तरिक बैठक गरेका छन्। मंगलबार काठमाडौंमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको उक्त बैठकमा शेखर कोइरालासहित ७० भन्दा बढी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकमा मुख्यतः मुलुकको पछिल्लो राजनीतिक अवस्था, दलभित्रको एकता र आगामी रणनीतिक कदमबारे केन्द्रित छलफल भएको बताइएको छ। केन्द्रीय सदस्य लक्ष्मी खतिवडाका अनुसार वर्तमान परिस्थितिमा कांग्रेसलाई एकताबद्ध राख्दै कसरी प्रभावकारी रूपमा अघि बढ्ने भन्ने विषय प्राथमिकतामा परेको छ। बैठकलाई कांग्रेसभित्र बढ्दो आन्तरिक चुनौती र बाह्य राजनीतिक दबाबबीच एकता कायम राख्ने प्रयासका रूपमा हेरिएको छ। नेताहरूले आगामी दिनमा साझा धारणा निर्माण गर्दै पार्टीलाई सशक्त बनाउने प्रतिबद्धता जनाएका छन्।




