खेलकुद

पाकिस्तानी क्रिकेटर नसीमलाई रेकर्ड जरिवाना

पाकिस्तान सुपर लिग (पिएसएल) सुरु भएको पहिलो सातामै विवादको शृङ्खला देखिएको छ, जसको केन्द्रमा फास्ट बलर नसीम शाह पर्नुभएको छ । सामाजिक सञ्जालमार्फत एक राजनीतिज्ञको आलोचना गरेपछि उहाँलाई ७१ हजार ५०० डलर जरिवाना गर्दै पाकिस्तान क्रिकेट इतिहासकै सबैभन्दा ठूलो आर्थिक दण्ड दिइएको छ ।

नसीममाथिको कारबाहीले यस वर्षको पिएसएललाई थप तनावपूर्ण बनाएको छ, जहाँ अन्य खेलाडीहरू पनि विभिन्न अनुशासन उल्लङ्घनका कारण कारबाहीमा परेका छन् । फास्ट बलर शाहिन शाह अफ्रिदीलाई कडा सुरक्षा प्रोटोकल उल्लङ्घन गरेको भन्दै तीन हजार ५०० डलर जरिवाना गरिएको छ भने ब्याट्सम्यान फखर जमान बल टेम्परिङको आरोपमा अनुसन्धानको घेरामा पर्नुभएको छ ।

नसीमले गत बिहीबार लाहोर कलन्दर्स र हैदराबाद किङ्ग्समेनबीचको खेलअघि आयोजित उद्घाटन समारोहमा पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजको उपस्थितिलाई लिएर सामाजिक सञ्जाल एक्समा कटाक्ष गर्नुभएको थियो । व्यापक रूपमा फैलिएको उक्त पोस्टमा उहाँले ‘उहाँलाई किन लड्र्समा रानीजस्तै व्यवहार गरिन्छ ?’ भन्ने टिप्पणी गर्नुभएको थियो । उक्त पोस्ट तुरुन्तै हटाइए पनि त्यसले ठूलो विवाद निम्त्यायो ।

पछि नसीमले आफ्नो सामाजिक सञ्जाल खाता ह्याक भएको दाबी गर्नुभएको थियो । तर पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उक्त दाबी स्वीकार नगरी उहाँलाई तीन सदस्यीय अनुशासन समितिसमक्ष उपस्थित हुन निर्देशन दिएको थियो । रावलपिन्डीबाट खेल्ने नसीमले समितिसामु माफी माग्नुभएको भए पनि बोर्डले कडा निर्णय गर्दै रेकर्ड जरिवाना सुनाएको हो ।

उता, शाहिन शाह अफ्रिदीमाथि पनि सुरक्षा नियम उल्लङ्घन गरेको आरोप लागेको छ । लाहोरस्थित टोली होटलमा उहाँले निर्धारित नियमविपरीत टोलीका सहकर्मी सिकन्दर राजाको कोठामा बाह्य आगन्तुकहरू लैजान खोज्नुभएको भन्दै कारबाही गरिएको बताइएको छ । पञ्जाब प्रहरीले अनुमति नदिएको अवस्थामै उक्त कार्य गरिएको आरोप छ ।

यसै क्रममा फखर जमानमाथि बल टेम्परिङको गम्भीर आरोप लागेको छ । आइतबार कराची किङ्ग्सविरुद्धको खेलमा अन्तिम ओभरमा भएको घटनापछि अम्पायरले बलको अवस्था परिवर्तन गरिएको ठहर गर्दै विपक्षी टोलीलाई पाँच पेनाल्टी रन दिएका थिए । त्यसअघि जितका लागि १४ रन आवश्यक रहेको अवस्थामा उक्त निर्णयपछि लक्ष्य घटेर नौ रनमा सीमित भएको थियो, जसले खेलको नतिजामा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।

पिएसएलले सोमबार जारी गरेको वक्तव्यमा फखरमाथि खेलको सर्त उल्लङ्घन गरेको आरोप लगाइएको जनाएको छ, जसअनुसार बलको अवस्था परिवर्तन गर्ने कुनै पनि कार्य दण्डनीय मानिन्छ । यदि आरोप पुष्टि भएमा उहाँलाई एकदेखि दुई खेलसम्म प्रतिबन्ध लाग्न सक्ने सम्भावना रहेको छ ।

यसपटकको पिएसएल इरानसँगको क्षेत्रीय तनावका कारण थप प्रभावित बनेको छ । इन्धन आपूर्तिमा चिन्ताका कारण खेलहरू दर्शकविना बन्द ढोकाभित्र सञ्चालन भइरहेका छन् भने प्रतियोगिता सामान्यतया हुने छ सहरको सट्टा दुई स्थानमा मात्र सीमित गरिएको छ । यस्तो अवस्थामा खेलसँगै विवाद पनि बढ्दै जाँदा लिगको छवि र सञ्चालन दुवै चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *