काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत एक कर्मचारी ग्राहकको खाताबाट रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकी छन्। गाईघाट शाखामा कार्यरत सुनिता बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार बैंककै उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा बानियाँले ग्राहकहरूको खातामा रहेको रकम दुरुपयोग गरेको देखिएको प्रहरीले जनाएको छ।
उदयपुरको त्रियुगा नगरपालिका–५ की स्थानीय बानियाँमाथि बैंकिङ कसुर तथा ठगीसम्बन्धी अनुसन्धान भइरहेको छ। प्रहरीले उनीसँग प्रारम्भिक बयान लिइसकेको छ भने थप विवरण संकलन गर्ने काम जारी रहेको बताइएको छ। घटनाको संकेत पाएपछि बैंक व्यवस्थापनले आन्तरिक छानबिन थालेको थियो। छानबिनबाट अनियमितता पुष्टि भएपछि बैंकले प्रहरीलाई जानकारी गराएको हो। प्रहरीका अनुसार यो घटनामा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।




