खेलकुद

एसियन कप छनोटमा आज नेपाल र लाओस भिड्दै

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत आज हुने खेलमा नेपाल र लाओस भिड्दैछन् । लाओसको लेओ राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकी ५:४५ बजे शुरु हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका लागि मुख्य प्रशिक्षक गुलिएल्मो एरिनाले आज आफ्नो पहिलो औपचारिक खेलमा नेतृत्व गर्दैछन् ।

यस खेल नेपालको होम म्याच भए पनि दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउँदा खेल लाओसमै हुन लागेको हो । छनोटबाट बाहिरिसकेपनि प्रशिक्षक एरिनाले जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने बताएका छन् ।

नेपाल आज जित निकाल्दै छनोटको सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ । नेपालले छनोटमा एकमात्र जित निकालेको छ । मलेसियासँगको छनोटको पहिलो खेलमा नेपाल २-० गोलले पराजित भएपनि नतिजा उल्टाउँदै नेपालको पक्षमा दिइएको थियो ।

गत नोभेम्बरमा भएको खेलमापनि नेपाल मलेसियासँग १-० गोलले पराजित भएको थियो । अन्य खेलमा नेपाल भियतनामसँग ३-१ र १-० तथा लाओससँग २-१ गोलले पराजित भएको थियो ।

हाल नेपाल र लाओस ५ खेलबाट समान तीन/तीन अंक जोड्दै क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । दुवै टोली छनोटबाट बाहिरिसकेकाले आजको खेल प्रतिष्ठाको लडाईमात्र हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *