काठमाडौं । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने हरेक निर्णयमा आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताएका छन्। बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले सरकारबाट सकारात्मक काम हुनेमा विश्वास व्यक्त गर्दै जनहितका विषयमा पार्टी सधैँ साथमा रहने उल्लेख गरे। साथै, सरकारका कामकारबाहीमा कमजोरी देखिएमा रचनात्मक रूपमा सुझाव र सल्लाह दिने पनि स्पष्ट पारे।
नेम्वाङले भने, “सरकारले देश र जनताको हितमा काम गर्छ भन्ने विश्वास छ। त्यस्ता काममा हाम्रो पूर्ण साथ रहनेछ। यदि कुनै कमी कमजोरी देखिएमा हामी रचनात्मक रूपमा सुझाव दिनेछौँ।”
त्यस्तै, जेनजी जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरिसकेपछि मात्रै सो विषयमा पार्टीको आधिकारिक धारणा आउने उनले जानकारी दिए।




