काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर राहदानी दुरुपयोग सम्बन्धी मुद्दाको सुनुवाइ सोमबार स्थगित भएको छ। सर्वोच्च अदालतमा तोकिएको संयुक्त इजलास बस्न नसकेपछि पेसी हेर्न नभ्याइएको हो। उक्त मुद्दा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि राखिएको थियो। तर दुवै न्यायाधीशका एकल इजलासमा अन्य उच्च प्राथमिकताका रिटहरूको सुनुवाइ लम्बिएपछि संयुक्त इजलास बस्न नसकेको अदालत स्रोतले जनाएको छ।
न्यायाधीश रेग्मीको इजलासमा पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटसहित सात वटा मुद्दा तथा न्यायाधीश पोखरेलको इजलासमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण रिटसहित अन्य मुद्दा रहेकाले समय अभाव भएको हो। त्यसकै कारण संयुक्त इजलासको १२ नम्बर सूचीमा रहेको लामिछानेको मुद्दा सुनुवाइमा प्रवेश गर्न सकेन।
यो मुद्दा युवराज पौडेल (सफल)ले दुई वर्षअघि दायर गरेका हुन्। उनले तत्कालीन महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा नचलाउने निर्णय कानुनविपरीत रहेको जिकिर गर्दै सर्वोच्चको ढोका ढकढक्याएका थिए।
रिटमा पौडेलले लामिछानेले आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिकका रूपमा विवरण भरेर राहदानी लिएको कार्य राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीत भएको दाबी गरेका छन्। उनले राहदानी कुन–कुन समयमा र कुन प्रयोजनका लागि प्रयोग भयो भन्ने विवरण अध्यागमन विभागबाट झिक्नुपर्ने मागसमेत गरेका छन्।
यसअघि सर्वोच्चले यस मुद्दामा तीन पटक फाइल झिकाउने आदेश गरिसकेको छ। २०७९ चैत २२ गते कारण देखाउ आदेश जारी गरेको अदालतले २०८० जेठ ९ गते फाइल मगाउने निर्णय गरेको थियो। यद्यपि अन्तरिम आदेशमार्फत लामिछानेलाई राजनीतिक अधिकार प्रयोगमा रोक लगाउने माग भने अदालतले अस्वीकार गरिसकेको छ।
अब संयुक्त इजलास पुनः बसेपछि मात्रै यो बहुचर्चित राहदानी विवादले न्यायिक गति लिनेछ।




