काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दाको पेसी अब चैत २७ गतेपछि तोकिने भएको छ। विशेष अदालतका सदस्य हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सबै पक्षलाई चैत २७ भित्र बहस नोट पेश गर्न आदेश दिएको कारण त्यसपछि मात्रै पेसी चल्ने भएको हो। नेपालका तर्फबाट पैरवी गरिरहेका अधिवक्ता डेकेन्द्रप्रसाद सुवेदीले पेसी चैतको अन्तिम साता वा वैशाखको पहिलो साता तोकिने सम्भावना रहेको बताए।
मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा दायर गरेको थियो। भूमिसम्बन्धी ऐन २०२१ अनुसार, उत्पादनमूलक उद्योग वा व्यवसायका लागि सरकारले जमिनको हदबन्दी छुट दिन सक्ने व्यवस्था भए पनि त्यसरी छुट प्राप्त जमिन बिक्री गर्न पाइँदैन।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्ले २०६६ माघ १८ मा निर्णय गर्दै उक्त जमिन बिक्रीको अनुमति दिएको थियो। मुद्दामा उनीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजायको माग गरिएको छ। यस जमिनमा पतञ्जली योगपीठले जडीबुटी उत्पादन र आयुर्वेद अस्पताल निर्माणको उद्देश्यले हदबन्दी छुटमा खरिद गरेको थियो।




