काठमाडौँ । बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपसँग जोडिएको पुरानो मुद्दा पुनः सक्रिय भएपछि नेकपा (एमाले) की लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मा पक्राउ परेकी छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार धुम्बाराहीस्थित निवासबाट नियन्त्रणमा लिएको हो। हाल उक्त प्रकरणमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शर्मामाथि दाङकी एक नाबालिकालाई घरेलु कामदारका रूपमा राखी कुटपिट, मानसिक यातना तथा स्वतन्त्र रूपमा बाहिर निस्किन नदिएको आरोप लागेको थियो । २०८१ जेठ १४ गते काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित उनको घरबाट ती बालिकाको उद्धार गरेको थियो ।
उद्धारपछि महानगरपालिकाले बालबालिकासम्बन्धी ऐन, २०७५ अन्तर्गत हिंसा भएको दाबी गर्दै २०८१ जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएको थियो । आरोपमा शारीरिक चोटपटक पुर्याउने, आतंकित पार्ने, उपेक्षा गर्ने, तिरस्कार गर्ने र मानसिक पीडा दिने कार्य समेटिएको छ । कानुनअनुसार कसुर पुष्टि भए ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था छ ।
घटनाले त्यसबेला पनि ठूलो राजनीतिक र सामाजिक बहस निम्त्याएको थियो । तत्कालीन काठमाडौँ महानगर प्रमुख तथा हालका प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा यो विषय उठाउँदै ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका थिए । पछि मुद्दा नचल्ने निर्णय भएपछि उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका थिए ।
यो विषय सर्वोच्च अदालतसम्म पुगेको थियो । उद्धारपछि बालिकाका बुबाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । प्रारम्भिक सुनुवाइमा न्यायाधीशहरूबीच राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा गएको थियो ।
पूर्ण इजलासले २०८१ असार २८ गते बालिकालाई बुवाआमासँग पुनर्मिलन गराई उनको इच्छाअनुसार काठमाडौँमै राख्न आदेश दिएको थियो । साथै बालिग नहुन्जेलसम्म शिक्षा र हेरचाहको जिम्मा काठमाडौँ महानगरपालिकालाई दिइएको थियो ।
लामो समय निष्क्रिय जस्तै रहेको उक्त मुद्दा पुनः खुला भएसँगै सांसद शर्माको गिरफ्तारी भएको हो । यो घटनाले बाल अधिकार संरक्षण र प्रभावशाली व्यक्तिमाथिको कानुनी कारबाहीबारे फेरि बहस सुरु गराएको छ।




