काठमाडौं । संघीय संसद सचिवालय ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन सूचना जारी गरेको छ।
भ्रष्टाचार निवारण ऐन अनुसार सांसदहरूले शपथ लिएको मितिबाट ६० दिनभित्र आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको विवरण पेश गर्नुपर्ने व्यवस्था छ।
ऐनको दफा ५० ले सार्वजनिक पद धारण गरेका व्यक्तिले तोकिएको निकायसमक्ष सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने स्पष्ट व्यवस्था गरेको छ।
सचिवालयका अनुसार सांसदहरूले जेठ १० गतेभित्र संसद सचिवालयअन्तर्गतको सांसद सुविधा व्यवस्थापन शाखामा विवरण बुझाइसक्नुपर्नेछ।सम्पत्ति विवरण सिलबन्दी खाममा बुझाउनुपर्ने भए पनि सो विवरण गोप्य नहुने जनाइएको छ।
विवरणमा सांसदको नाम, निर्वाचन क्षेत्र, स्थायी ठेगाना, मोबाइल नम्बर लगायतका आधारभूत विवरण उल्लेख गर्नुपर्नेछ। साथै, सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण समावेश गर्नुपर्ने सचिवालयले स्पष्ट पारेको छ।




