चीनका वैज्ञानिकहरूले गरेको नयाँ अध्ययनले भवनका बाहिरी पर्खालहरूमा सौर्य प्यानल जडान गर्दा ठूलो मात्रामा विद्युत उत्पादन गर्न सकिने र साथै लागत घट्दै कार्बन उत्सर्जन कम हुने देखाएको छ ।
यो अनुसन्धान चिनियाँ विज्ञान एकेडेमी अन्तर्गतको भौगोलिक विज्ञान तथा प्राकृतिक स्रोत अनुसन्धान संस्थान का वैज्ञानिकहरूको नेतृत्वमा गरिएको हो ।
हाल अधिकांश सौर्य प्यानल भवनको छानामा जडान गरिन्छन् । तर भवनका ठूला ठाडा पर्खालहरू ऊर्जा उत्पादनका लागि प्रायः प्रयोगविहीन छन् । अध्ययनले यिनै पर्खालहरूमा पनि सौर्य प्यानल जडान गर्ने अवधारणा — भवनको बाहिरी सतहमा समाहित सौर्य प्रविधिको सम्भावनाको विश्लेषण गरेको हो ।
अनुसन्धानकर्ताहरूले विश्वभरका भवनको बनावट, विशेषता र मौसमसम्बन्धी तथ्याङ्क प्रयोग गरी यस प्रविधिबाट कति विद्युत उत्पादन हुन सक्छ भन्ने अनुमान गरेका छन् । साथै, यस्ता प्यानलले भवनभित्रको तापक्रममा पार्ने प्रभाव पनि अध्ययन गरिएको छ, किनकि यसले घामको ताप अवशोषण घटाउँदै छायाँ प्रदान गर्छ ।
अध्ययनअनुसार, सम्भावित रूपमा यो प्रविधि प्रयोग गरिएमा विश्वभर वार्षिक करिब सात सय बत्तीस टेरावाट घण्टा विद्युत उत्पादन गर्न सकिन्छ, जुन लाखौँ घरपरिवारलाई ऊर्जा आपूर्ति गर्न पर्याप्त हुन्छ । यसका साथै भवनको ऊर्जा माग औसत आठ प्रतिशतले घट्ने देखिएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार, यी फाइदाहरूले आर्थिक तथा वातावरणीय क्षेत्रमा महत्वपूर्ण लाभ दिन सक्छन् । यदि सदीको मध्यसम्म यो प्रविधि पूर्ण रूपमा कार्यान्वयन गरियो भने, कुल कार्बन उत्सर्जन करिब सैंतीस गिगाटनले घट्न सक्छ ।
तर, यी सम्भावनाहरू हासिल गर्न लक्षित नीति, सावधानीपूर्वक योजना तथा स्थानीय अवस्थाअनुसार रणनीति आवश्यक पर्ने पनि अध्ययनले औंल्याएको छ ।
संस्थाका प्राध्यापक याओ लिङ भन्नुभयो, “जलवायु परिवर्तनका कारण सहरहरूमा अत्यधिक गर्मी र ऊर्जा माग बढ्दै गएको अवस्थामा, भवनहरूलाई ऊर्जा–दक्ष र जलवायु–अनुकूल बनाउन यो एक महत्वपूर्ण अवसर हो ।”
यस अध्ययनले सहरहरूमा स्वच्छ ऊर्जा विस्तार गर्दै जलवायु परिवर्तनसँग जुध्न नयाँ उपाय प्रस्तुत गरेको मानिएको छ ।




