देश

इनिसा विक प्रकरणः अभियोगपत्र दर्तासँगै मुद्दा अदालतमा, कानुनी प्रक्रिया अघि बढ्यो

काठमाडौं । १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको घटनामा कानुनी प्रक्रिया थप अघि बढेको छ। सरकारी वकिलको कार्यालयले जिल्ला अदालत सुर्खेतमा अभियोगपत्र दर्ता गरेसँगै अब यो मुद्दा औपचारिक रूपमा न्यायिक परीक्षणमा प्रवेश गरेको हो। इनिसा विक, जो गुर्भाकोट नगरपालिका–६ बडाखोलीकी स्थायी बासिन्दा हुन्, हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारसँग बस्दै आएकी थिइन्। फागुन २३ गते बिहान ट्युसन जान भनेर घरबाट निस्किएकी उनी केही समयपछि वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन्।

उद्धारपछि उनलाई प्रदेश अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनालाई गम्भीर रूपमा लिँदै प्रहरीले प्रारम्भिक अनुसन्धानकै क्रममा घटनास्थलबाट एक १६ वर्षीय नाबालकलाई पक्राउ गरेको थियो। पक्राउ परेका नाबालकले आफू इनिसाको प्रेमी भएको स्वीकार गरेका छन्। प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन चैत ११ गते नै सरकारी वकिलको कार्यालयमा बुझाइएको थियो। सोही आधारमा अभियोगपत्र दर्ता गरिएको हो।

अब मुद्दा अदालतमा विचाराधीन रहेकाले आगामी सुनुवाइ र फैसला प्रक्रियाले घटनाको वास्तविकता र कानुनी निष्कर्ष निर्धारण गर्नेछ। स्थानीय स्तरमा भने यस घटनाले अझै पनि गहिरो चासो र संवेदनशीलता कायम राखेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *