देश

रसुवामा जनचेतना अभिवृद्धिसँगै स्वास्थ्य सेवा सुधार, खोप पहुँच र मातृ–शिशु स्वास्थ्यमा प्रगति

रसुवा।मातृ तथा शिशु मृत्युदर घटाउने, सङ्क्रामक रोगको जोखिम कम गर्ने, खोपको पहुँच विस्तार गर्ने र स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि सञ्चालन भएका कार्यक्रमहरूले जिल्लाको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार ल्याएका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख झमप्रसाद आचार्यका अनुसार जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य पूर्वाधार विस्तार, संघ, प्रदेश र स्थानीय तहको सहकार्य, तथा समुदायमा आधारित कार्यक्रमका कारण स्वास्थ्य सेवा प्रभावकारी भएको छ। चालु आर्थिक वर्षमा २३१ बालबालिकालाई पूर्णखोप लगाइएको र खोपका लागि लक्षित बालबालिकाको संख्या ७१६ पुगेको जनाइएको छ।

जिल्लामा एउटा प्रदेशिक अस्पताल, दुई आधारभूत अस्पताल, चार आयुर्वेद स्वास्थ्य संस्था, १६ स्वास्थ्यचौकी, १६ सामुदायिक स्वास्थ्य इकाई, तीन आधारभूत स्वास्थ्य सेवा केन्द्र र १८ बर्थिङ सेन्टर सञ्चालनमा छन्। २४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू गाउँगाउँमा सेवा विस्तारमा परिचालित छन् भने सुरक्षित गर्भपतनका लागि तीन क्षेत्रीय केन्द्र सञ्चालनमा छन्।

रसुवागढी अन्तर्राष्ट्रिय नाकामा नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ भने २० माध्यमिक विद्यालयमा नर्सको व्यवस्था गरी प्राथमिक उपचार, स्वास्थ्य परामर्श र स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ।

जनस्वास्थ्य अधिकृत आचार्यले नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, रोगका लक्षण देखिँदा तुरुन्त स्वास्थ्य संस्थामा जान, सुर्ती, मदिरा र लागुपदार्थ नखान, तथा योग, ध्यान र व्यायामलाई दैनिक जीवनमा समावेश गर्न नागरिकहरूलाई आग्रह गर्नुभएको छ।

यसरी रसुवामा स्वास्थ्य सेवामा सुधारको यात्रा जारी रहेको र अब आधारभूत उपचारबाट गुणस्तरीय स्वास्थ्य सेवातर्फ अघि बढिरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *