दशरथचन्द । बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । ग्रामीण क्षेत्रका महिलालाई प्रजनन स्वास्थ्यसम्बन्धी सेवा दिने उद्देश्यले यहाँका सुर्नया र पाटनले स्वास्थ्य शिविरको आयोजना गरेका हुन् ।
केही स्वास्थ्य संस्थामा यसअघि नै शिविर सम्पन्न भइसकेको र केही स्वास्थ्य संस्थामा शिविर सञ्चालनको तयारी भइरहेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । सोमबार सिलङ्गा स्वास्थ्यचौकी र मङ्गलबारभूमेश्वर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने उनले बताए ।
स्वास्थ्य संस्थामा सञ्चालन हुने शिविरमा पाठेघर खस्ने समस्या जाँच, उपचार र परामर्श, पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सरको स्क्रिनिङ, प्रसप फिस्टुलाको स्क्रिनिङ, तल्लो पेटको दुखाइ हुने, सेतो पानी बग्ने समस्याको जाँच र उपचार, परिवार नियोजनको लामो अवधिको साधन इम्पलान्ट राखिने र महिलाको निःशुल्क अल्ट्रासाउण्ड सेवा दिइने बताइएको छ ।
यस्तै सुर्नया गाउँपालिकामा आइतबारदेखि प्रजनन स्वास्थ्य शिविर सञ्चालन भएको छ । आज भूमिराज आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन भएको हो । यसैगरी चैत १६ गते गते शिखरपुर स्वास्थ्यचौकी, १७ गते शङ्करपुर स्वास्थ्यचौकी, २० गते रौलेश्वर स्वास्थ्यचौकी र २१ गते भौनेली स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।




