काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
आज यहाँ मन्त्रालयका कामकारबाहीबारे जानकारी लिँदै उनले सञ्चार मन्त्रालय सरकारको अनुहार र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएकाले जनतालाई तत्काल लाभ हुने र प्रतिफल आउने गरी जनमुखी काम गर्न आग्रह गरेका हुन् ।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले भने, “देशमा एउटा नयाँ राजनीतिक परिदृश्य देखिएको छ । निर्वाचनले हामीलाई अभूतपूर्व ‘म्यान्डेड’ दिएका छन् । जनअपेक्षा पनि धेरै छन् । त्यसैले जनताले तत्काल अनुभूति गर्नेगरी सरकारले काम गर्नुपर्ने दायित्व छ ।”
उनले नवगठित सरकारको भावनाअनुसार जनतालाई केन्द्रमा राखेर सरल, छिटो र छरितो सेवा प्रवाह बनाइनुपर्नेमा जोड दिए । “सेवा प्रवाह छिटो र छरितो हुनुपर्यो । कुनै पनि विवादित कामहरू हुनुभएन”, मन्त्री डा. तिमिल्सिनाले भने, “सेवाग्राहीले समस्या महसुस गर्नुभन्दा अगाडि नै हामीले समाधान गरिसक्नुपर्छ । जनभावनालाई सम्मान गरेर देशले खोजेको बाटोमा मुलुकलाई अगाडि बढाउन सबैले योगदान गर्नुपर्छ ।”
उनले मन्त्रालयले तत्काल गर्नुपर्ने सुधार र दीर्घकालीन कार्ययोजनासहित आउन उच्चपदस्त अधिकारीलाई आग्रह गर्दै सञ्चार मन्त्रालयलाई नमूना मन्त्रालयका रूपमा स्थापित गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए । सञ्चारमन्त्री तिमिल्सिनाले ‘डिजिटल डिभाईड’ हटाउन कार्ययोजनासहित द्रुतगतिमा काम गर्नुपर्ने खाँचो औँल्याए । उनले तत्काल ‘रिफर्म’ गर्नुपर्ने, नयाँ मस्यौदा गर्नुपर्ने ऐनहरू चाँडो प्रस्तुत गर्न तथा जनतालाई राहत हुनसक्ने र सकारात्मक सन्देश दिनसकिने कामको कार्ययोजना तयार पार्न निर्देशन दिए ।
मन्त्री डा. तिमिल्सिनाले सामूहिक नेतृत्व प्रणाली, समन्वय र सहकार्यबाटै चाँडो परिणाम आउने भन्दै सबै जिम्मेवार भएर काममा लाग्नुपर्नेमा जोड दिए । उनले भने, “आ–आफ्नो तहबाट प्रोएक्टिभ भएर काम गरौँ, जनताले खोजेको गतिअनुसार समय दिएर काम गर्न जरुरी छ ।”
त्यस अवसरमा सबै महाशाखा प्रमुखले आ–आफ्ना महाशाखाको वस्तुस्थिति, प्रगति विवरण, समस्या र आगामी कार्ययोजनाबारे अवगत गराएका थिए । मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले जनचाहनाअनुरुप सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन मन्त्रालय कार्ययोजनाका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकको दूरसञ्चार सेवालाई प्रभावकारी बनाई गुनासो नआउने किसिमले काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिए ।




