काभ्रेपलाञ्चोक। शुक्रबार साँझको भारी वर्षासँगै रोशी खोलाको क्षेत्र मा आएको बाढीले डिभिजन सडक कार्यालय भक्तपुर का कर्मचारी ४० वर्षीय कुन्साङ तामाङको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार तामाङ विपी राजमार्गमा काम गर्ने कर्मचारी थिए। मोटरसाइकलमा सवार दुई जनालाई खोला पार गराउन जाँदा उनी बगेर जानुभयो। प्रहरीले बाढीले एक मोटरसाइकल र एक इलेक्ट्रिक गाडी पनि बगाएको जनाएको छ।
भारी वर्षा र बाढीका कारण शुक्रबार साँझदेखि विपी राजमार्गमा यातायात अवरुद्ध भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजु का अनुसार बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटार क्षेत्रमा लेदोसहितको पहिरो र बाढीले सडक अवरुद्ध भएको छ।
धाँजुका अनुसार आज बिहानदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छाउने प्रयास भइरहेको छ। गत वर्षको बाढीपहिरोले सडक क्षतिग्रस्त भएपछि अस्थायी सडकमार्फत सञ्चालन गरिएको क्षेत्रमा यस वर्ष पनि जोखिम उच्च रहेको छ।
वर्षाका कारण राजमार्ग अवरुद्ध भएपछि ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभञ्ज्याङ, भकुण्डे, नेपालथोक र मङ्गलटार क्षेत्रमा सवारीसाधन ‘होल्ड’ गरेको छ।




