देश

को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?

कर्णाली।सिता बादी, बादी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति हुन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ नयाँगाउँकी उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् ।

शुक्रबार भएको सरकार गठनका क्रममा बालेन्द्र शाह नेतृत्वको सरकारमा उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

विसं.२०५२ भदौ २३ गते सुर्खेतम जन्मेकी उनले सुर्खेतको झुप्रा खोलामा बालुवा चालेर आफ्नो आमा बाबासँग दैनिकी गुजार्दै आएकी थिइन् ।

उनले पदभार ग्रहण गर्दै भनिन्, “यो स्थानमा पुगिएला भन्ने कल्पनासमेत गरेकी थिइन । किनकी मेरो बिगत र पृष्ठभूमि निकै असहज थियो । परिवार सम्झेर आजको यो पलले मलाई भावुक बनाएको छ ।”

महिला हिंसा, अपाङ्गता भएका व्यक्तिका समस्यालाई नीतिगत तहबाट कानून निर्माण गरी कार्यान्वयन गर्ने र उनीहरुमा परिवर्तनमा आभास गराउने सोच राखेर अगाडि बढ्ने संकल्प गरेको उनले बताइन् ।

मूलतः कमजोर आर्थिक अवस्था, शिक्षाबाट बञ्चित, भूमिहीन बादी समुदायका समस्यासहित समाजमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको हक एवं अधिकारका सवालमा बिगत भन्दा माथि उठेर काम गर्ने मन्त्री बादीको भनाइ छ ।

झुप्रा खोला, भेरी नदी किनारमा बालुवा उत्खनन् गरेर जीविकोपार्जन गर्दै आएका उनले भेरीगंगा नगरपालिकाको सत्तरी भन्ने स्थानबाट प्राथमिक तहको शिक्षा लिएकी हुन् ।

१३ वर्षको उमेरमा पढ्नकै लागि एक संस्थाको सहयोगमा घर छोडेर काठमाडौँ गइन्। उनले राजनीतिक शास्त्रमा स्नातकोत्तर तहको उपाधि हासिल गरेकी छन् ।

अधिकारकर्मी हिक्मत वादीले सङ्कट बेहोर्दै पटक पटक गरेको आन्दोलन र निरन्तरको संघर्षपछि वादी समुदायको प्रतिनिधित्व गर्दै सीता संघीय सरकारको मन्त्रिपरिषद् सदस्य बन्नु इतिहासकै गर्वलायक क्षण भएको बताए ।

“सदियौंदेखि थिचोमिचोमा परेको भूमिहीन समुदायले अब न्याय पाउने आशा गरेको छु । अब हामी प्रति हेर्ने नजर फेरिने र अवस्था बदलिनेछ”, उनले भने ।

जीवनयापनका लागि खोला, नदी किनार धाउनुपर्ने, कमजोर आर्थिक अवस्थामा शिक्षाबाट बञ्चित, कमजोर स्वास्थ्य अवस्था बदल्न र विभेद, असमानता, गरिबी, बेरोजगारीविरुद्ध स्पष्ट नीति निर्माण गरी कानून बनाएर कार्यान्वयन गर्नतर्फ विशेष भूमिका निर्वाह गर्ने मन्त्री वादीले बताइन् ।

त्यस्तै मुलुकमा देखिएको व्याप्त भ्रष्टाचार अन्त्य गर्ने, दलितहरुलाई आत्मसम्मानका साथ बाँच्न सक्ने सहज अवस्था निर्माण गर्ने, सेवा प्रवाह सहजता ल्याउने, महिला सशक्तीकरण, दलित अधिकार, बाल संरक्षण, सुशासन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर सरकारी तहबाट विशेष जिम्मेवारी पूरा गर्ने र नागरिकहरुको जीवन बदल्ने यात्राको रुपमा राजनीतिकलाई माध्यम बनाउने उनले बताएकी छन् ।

कर्णालीका राजनीतिक विश्लेषक तथा नागरिक समाजका अगुवा पिताम्बर ढकालले पिछडिएको भूगोल कर्णाली र त्यसमा पनि समुदायबाट मन्त्री बनेकी सीता बादीको ऐतिहासिक सफलता संघीय लोकतान्त्रिक गणतन्त्रको उत्तम अभ्यास भएको बताए ।

उनले भने, “यो व्यवस्थाको सुन्दर पक्ष भनेकै सीता जस्ता पछाडि परेका समुदाय, भेक, क्षेत्र, जाति, लिंग र धर्मका नागरिकहरुको समानुपातिक र समावेशी प्रतिनिधित्व हो । यसले लोकतन्त्रलाई अँझ बढी बलियो बनाएर लैजान्छ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *