देश

म्यान्मा : सेनाभित्र फेरबदलको सङ्केत, सत्तारूढ संरचना पुनर्गठनतर्फ

म्यान्मामा सैन्य शासनले आफ्नो शक्ति संरचना पुनःव्यवस्थित गर्ने सङ्केत दिएको छ । यसले देशको राजनीतिक मार्गचित्रमा नयाँ मोड ल्याउन सक्ने देखिएको छ । वार्षिक सशस्त्र सेना दिवसको भव्य परेड अघि सेनाको नेतृत्वमा परिवर्तनको तयारी भइरहेको सङ्केत सार्वजनिक भएको हो । यसलाई वर्तमान रक्षा प्रमुख मिन आङ ह्लाइङको औपचारिक रूपमा राष्ट्रपति बन्ने सम्भावित कदमका रूपमा व्याख्या गरिएको छ ।

राजधानी नेपिडोमा हजारौँ सैनिकहरू सशस्त्र सेना दिवसको अवसरमा प्रदर्शनका लागि तयारीमा छन्, जहाँ मिन आङ ह्लाइङले परम्परागत रूपमा वार्षिक सम्बोधन गर्दै सेनाको मनोबल उच्च बनाउने अपेक्षा गरिएको छ । सन् २०२१ मा आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गरेपछि उहाँले आदेशमार्फत शासन गर्दै आउनुभएको छ । त्यसपछि सुकीलाई पक्राउ गरिएको, उहाँको पार्टी विघटन गरिएको र देश गृहयुद्धमा धकेलिएको थियो ।

सरकारी पत्रिका ग्लोबल न्यु लाइटका अनुसार समारोहपछि सेनामा ‘नेतृत्व परिवर्तन’ हुने सङ्केत दिइएको छ । मिन आङ ह्लाइङका सहायक सो विनले बिहीबार आयोजित आधिकारिक रात्रिभोजमा यस्तो जानकारी दिनुभएको हो । यो अभिव्यक्तिले आगामी राजनीतिक रूपान्तरणको सङ्केत गरेको विश्लेषकहरूको बुझाइ छ ।

यसै वर्षको सुरुआतमा सम्पन्न चुनावमा सैन्य समर्थित दलहरूले सहज विजय हासिल गरेपछि अब सांसदहरूले आगामी साता राष्ट्रपतिको चयन प्रक्रिया सुरु गर्ने तयारी गरिरहेका छन् । यद्यपि, प्रजातन्त्र पक्षधर अनुगमनकर्ताहरूले उक्त चुनावलाई विपक्षी शक्तिलाई बाहिर राखेर योजनाबद्ध रूपमा सम्पन्न गरिएको भन्दै आलोचना गरेका छन् ।

संविधानअनुसार राष्ट्रपति बन्नका लागि मिन आङ ह्लाइङले आफ्नो सैन्य पद त्याग्नुपर्ने हुन्छ । सो विनको अभिव्यक्तिले उहाँले यस्तो कदम चाल्ने सम्भावना अझ प्रस्ट बनाएको छ । उहाँ हाल कार्यवाहक राष्ट्रपतिको भूमिकामा रहे पनि स्थायी रूपमा पद सम्हाल्ने अवस्था बनेमा आलोचकहरूले यसलाई सेनाले नागरिक आवरणमा सत्ता निरन्तरता दिएको रूपमा व्याख्या गर्नेछन् ।

सो विनले ‘नेतृत्वमा जो आए पनि सशस्त्र सेनाले निरन्तर मार्गनिर्देशनअनुसार अघि बढ्ने’ सङ्केत दिनुभयो । म्यान्माको सैन्य विचारधाराले आफूलाई देशलाई विखण्डनबाट जोगाउने एकमात्र शक्ति भएको रूपमा प्रस्तुत गर्दै आएको छ ।

यसबीच, परेडको तयारीलाई सरकारी सञ्चारमाध्यमहरूले व्यापक रूपमा प्राथमिकता दिएका छन् । प्राचीन राजाहरूका विशाल मूर्तिहरू अगाडि उभिएका क्षेप्यास्त्र प्रक्षेपकहरूको तस्बिरसहित सैन्य शक्ति प्रदर्शनलाई प्रमुख रूपमा देखाइएको छ । तर, सन् २०२१ पछि सशस्त्र सेना दिवसका कार्यक्रमहरू क्रमशः सानो बन्दै गएका छन्, जसको कारण जारी गृहयुद्धले सेनाको क्षमता र उपस्थिति प्रभावित पारिरहेको छ ।

गत वर्षदेखि भने केही क्षेत्रमा जुन्ताले पुनः पकड जमाएको सङ्केत देखिएको छ । चीनको मध्यस्थतामा भएका युद्धविरामहरूले केही रणनीतिक क्षेत्रहरू सेनाको नियन्त्रणमा फर्काउन सहयोग गरेको छ । उत्तरी सहर लासियो सेनाले पुनः कब्जा गरेको छ भने अर्को सम्झौतापछि ताङ नेसनल लिबरेसन आर्मी मान्डले क्षेत्रबाट पछि हटेको छ ।

यी विद्रोही समूहहरूले सन् २०२३ को अन्त्यदेखि संयुक्त रूपमा गरेको आक्रमणलाई जुन्ताका लागि ठूलो चुनौती मानिएको थियो । विश्लेषकहरूका अनुसार चीनको सक्रिय भूमिकाले क्षेत्रीय स्थिरता कायम गर्न सैन्य संरचनालाई समर्थन गरेको सङ्केत देखिन्छ ।

यद्यपि, द्वन्द्व पूर्ण रूपमा नियन्त्रणमा आएको छैन । विभिन्न सशस्त्र समूहहरूको संलग्नताले युद्धलाई अत्यन्त जटिल बनाएको छ, कतिपय क्षेत्रमा सेना घेराबन्दीमा परेर अन्तिम प्रतिरोध गरिरहेको अवस्था पनि रहेको बताइन्छ । एसिएलडीका अनुसार गत वर्ष सैन्य हवाई तथा ड्रोन आक्रमणको सङ्ख्या उल्लेखनीय रूपमा बढेको थियो ।

द्वन्द्वको स्पष्ट आधिकारिक तथ्याङ्क नभए पनि एसिएलडीले सबै पक्षबाट ९० हजारभन्दा बढी मानिस मारिएको अनुमान गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार ३७ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् भने देशको आधाभन्दा बढी जनसङ्ख्या गरिबीको चपेटामा परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *