काठमाडौं।नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई हौसला प्रदान गर्नुपर्ने धारणा धारणा राखेकी छन् ।
मन्त्रालयमा आज आयोजित पदबहाली तथा स्वागत कार्यक्रममा उनले स्वास्थ्यका जनशक्तिलाई हौसला नदिइँदा बिदेसिने स्थिति सृजना भएको बताइन् । उनले भनिन्, ‘ती जनशक्तिलाई स्वदेशमा नै बस्न सक्ने वातावरण मिलाउनुपर्छ, हौसला दिनुपर्छ ।’
मन्त्री मेहताले जनता र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सन्तुष्ट बनाउने कार्यलाई सरकारले प्राथमिकता दिने बताइन् । जनशक्तिलाई सन्तुष्ट बनाउन सकेमात्र परिणाम प्राप्त गर्न सकिने र जनताले भरपर्दो सेवा प्राप्त गर्ने उनको भनाइ छ ।
उनले चिकित्सक तथा नर्सहरूले आफ्नो क्षमताअनुसार अवसर नपाएको बताउँदै यस्ता समस्या सुल्झाउनुपर्नेमा जोड दिइन् ।




