देश

निवर्तमान प्रधानमन्त्री कार्की निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो निवासमा फर्किएका छन् । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेलगत्तै निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट धापासीस्थित निवासमा फर्किएकी हुन् ।

निवर्तमान कार्कीले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘सार्वजनिक जिम्मेवारीको एक महत्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ, कठिन र चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेको थियो, हामी सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सफल भयौँ, लोकतन्त्रप्रति जनताको अटुट विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको छ ।’

जननिर्वाचित नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा खुसी र निश्चिन्त भएको उल्लेख गर्दै निवर्तमान प्रधानमन्त्री कार्कीले नयाँ पुस्ताको ऊर्जावान् नेतृत्वले देशलाई अझ समृद्ध तथा स्थिर भविष्यतर्फ डोर्याउने विश्वास लिएकी छिन् । साथै, उनले यस यात्रामा साथ, सहयोग र विश्वास दिने सम्पूर्ण नेपाली नागरिक, सहकर्मी र सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गरेकी छिन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ गतदेखि कार्कीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिईन् । राष्ट्रपति रामचन्द्र पौडलले ६ महिनाभित्र निर्वाचनकोे जिम्मेवारी सहित नयाँ सरकार गठन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *