काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेलगत्तै दक्ष जनशक्ति सिर्जना गर्ने निर्णय गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज मन्त्रालयका सचिव डा दीपक काफ्लेले मन्त्रालयले प्रस्ताव गरेको ‘नेस्नल एकेडेमी अफ भोकेसन ट्रेनिङ’ को एक महिनाको रणनीति योजना बनाउने गरी प्रस्ताव गरिएको निर्णयमा मन्त्री साहले हस्ताक्षर गरेका हुन् ।
निर्णयमा हस्ताक्षरपछि मन्त्री साहले रोजगारीमा सबैभन्दा ठूलो समस्या भनेको दक्ष जनशक्तिको अभाव रहेको बताए । खासगरी खाडी मुलुकमा रोजगारका लागि जाने नेपालीको अवस्था अझै नाजुक रहेको बताउँदै देशमा दक्ष जनशक्ति उत्पादन गर्ने उनको प्रतिबद्धता रहेको छ ।
महोत्तरी क्षेत्र नं २ बाट आफू निर्वाचित भएकाले त्यहाँका जनताको मनोभावनाअनुरुप कार्ययोजना बनाउने मन्त्री साहले बताए ।
जनतालाई दिएको ‘म्यान्डेड’ यही रहेको बताउँदै मन्त्री साहले शिक्षासँगै सीप सिकाउनु अहिलेको जनशक्तिको माग र आवश्यकता रहेको उनको धारणा थियो । यसका लागि मन्त्रालयले गरेको पाँचवर्षे योजनालाई सफल पार्ने प्रतिबद्धतासमेत मन्त्री साहले दिए ।
मन्त्रालयका सचिव काफ्लेले पाँच वर्षभित्र प्राप्त गरेको सीप र रोजगारसँगको ऐक्यबद्धतालाई सुनिश्चित गरेर जानका लागि सरकारले काम गर्ने उद्देश्य रहेको बताए ।




