काठमाडौं। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि वञ्चित हुन नहुने बताएका छन् ।
नवनियुक्त ऊर्जामन्त्री श्रेष्ठले आज मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै ऊर्जा क्षेत्रबाट कोही पनि वञ्चित हुन नहुने बताएका हुन् । ‘२१औँ शताब्दीमा स्वच्छ ऊर्जाको माग झन् बढेर गएको छ, समयसापेक्ष रुपमा नीति बनाएर स्वच्छ ऊर्जाको विकासमा लागिनेछ,’ उनले भने ।
मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माणका लागि अर्थ मन्त्रालयसँग समन्वय गरिने उल्लेख गरे । अन्तर मन्त्रालय समन्वय गरेर ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा लागिने उनको भनाइ थियो ।
उनले पानीको अभावले खेतीयोग्य जमिन बाँझो हुने अवस्थाको अन्त्य गरिनुपर्ने बताए । मन्त्री श्रेष्ठले सहरी र ग्रामीण क्षेत्रमा पानीको ‘रिचार्ज सिस्टम’ निर्माणका लागि ‘टिम’ बनाएर अगाडि बढ्ने बताए । उनले वैकल्पिक ऊर्जाको विकासका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई थप बलियो बनाउनुपर्ने उल्लेख गरे ।
मन्त्री श्रेष्ठले २१औँ शताब्दी भनेको अनुसन्धानको युग भएकाले ऊर्जा र सिँचाइ क्षेत्रमा थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरे । उनले सुशासन ऐनलाई टेकेर मन्त्रालयमा सुशासन समिति गठन गरिने बताए । वित्तीय सुशासनलाई प्रभावकारी ढङ्गले अगाडि बढाइने उनको भनाइ थियो ।
मन्त्री श्रेष्ठले मन्त्रालयमा आएको उजुरी र यहाँ भएका चुनौतीलाई अध्ययन गरेर समाधानमा लाग्नुपर्ने बताए । उनले मन्त्रालयमा भएका कामका बारेमा प्रत्येक हप्ता सञ्चारमाध्यममार्फत आम जनतासम्म लैजान कर्मचारीलाई निर्देशनसमेत दिए ।
विवेकशील साझा पार्टीका तर्फबाट विसं २०७४ सालमा, समानुपातिकतर्फबाट बाग्मती प्रदेशको प्रदेशसभा सदस्य बनेका श्रेष्ठ विसं २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ बाट विजयी भई युवा तथा खेलकुदमन्त्री बनेका हुन् ।
प्रदेशसभामा रहँदा नेपाल भाषा र तामाङ भाषालाई बाग्मती प्रदेशको सरकारी कामकाजको भाषा बनाउने कानुन पारित गराउन मन्त्री श्रेष्ठले महत्त्वपूर्ण भूमिका खेलेका थिए। ‘बिजनेस एड्मिनिस्ट्रेसन’ मा स्नातक गरेका श्रेष्ठले होटल–रेस्टुरेन्ट व्यवस्थापन र विभिन्न परियोजनामा जागिरेका रूपमा काम गरेका थिए।
मन्त्री श्रेष्ठलाई मन्त्रालयमा ऊर्जा सचिव चिरञ्जीवी चटौत, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जल तथा ऊर्जा आयोगका सचिव दीनानाथ मिश्रले स्वागत गरेका थिए । तीनैजना सचिवले मन्त्री श्रेष्ठलाई आफ्नो नेतृत्वमा मन्त्रालयमा भएका कामका बारेमा जानकारी गराएका थिए ।




