विश्व

अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, छ घाइते

अफगानिस्तानका विभिन्न प्रान्तहरूमा पछिल्लो २४ घण्टामा परेको अत्यधिक वर्षाले अचानक बाढी ल्याउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । यो जानकारी राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बिहीबार साँझ दिनुभएको छ ।

प्रवक्ता हम्मादका अनुसार, बाढी पूर्वी प्रान्त परवान र पक्तिया तथा दक्षिणी प्रान्त कन्धार, जबुल र हिल्मण्डमा फैलिएको छ । बाढीले घर, सडक र कृषि क्षेत्रलाई व्यापक क्षति पु¥याएको छ । प्रभावित क्षेत्रमा ९४ वटा आवासीय घर पूर्ण वा आंशिक रूपमा नष्ट भएका छन् भने ग्रामीण सडकहरू बगाएर जाने जोखिममा परेका छन् । साथै, बाढीले खेतीयोग्य जमिन डुबाएको छ, जसले कृषकहरूलाई ठूलो आर्थिक क्षति पु¥याएको छ ।

विपद् व्यवस्थापन प्राधिकरणले प्रभावित क्षेत्रहरूमा राहत वितरण गर्न र क्षतिको प्रारम्भिक मूल्याङ्कन गर्न सर्वेक्षण टोलीहरू पठाइसकेको छ । यसका साथै प्राधिकरणले प्रभावित जनतालाई सुरक्षित स्थानमा सार्न र प्राथमिक सहायता उपलब्ध गराउन पहल सुरु गरेको छ ।

अफगानिस्तानको मौसम विभागले आगामी दिनहरूमा थप वर्षाको चेतावनी जारी गरेको छ । यसले पहाडी र जोखिमपूर्ण क्षेत्रमा थप बाढी आउने सम्भावना बढाएको छ, जसले अझ धेरै जनधनको क्षति निम्त्याउन सक्ने संकेत गर्दछ ।

विशेषज्ञहरूले प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले तत्काल तयारी अपनाउनुपर्छ र प्राधिकरणले जारी गरेका चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने भनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *