काठमाडौँ। प्रतिनिधिसभा सदस्यहरूले परम्परागत वेषभूषामा उपस्थित भई आफ्नो सांस्कृतिक पहिचान र समावेशिताको सशक्त सन्देश दिएका छन् ।
थारु समुदायकी सांसद गीता चौधरी आमाले सिलाइदिएको लहङ्गा–चोलियासहित संसद्मा पुगेर आफ्नै मातृभाषामा सपथ लिँदै सांस्कृतिक गौरव अभिव्यक्त गरिन् । “मेरो समुदायका लागि आज गौरवको दिन हो,” उनले भनिन्, “सङ्घीयताको मर्मअनुसार मौलिक पहिचान लिएर संसद्मा आएकी हुँ ।” उनले छोरीलाई समेत परम्परागत पहिरनमा सजाएर ल्याउँदै नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको आवश्यकता औंल्याइन् ।
संसद्लाई जनताको विविधता झल्किने साझा मञ्चका रूपमा व्याख्या गर्दै चौधरीले पहिचानसहितको उपस्थितिलाई सान्दर्भिक ठहर गरिन् । उनले शिरमा ‘मङ्गौरी’ र घाँटीमा ‘टौक’जस्ता पुर्खौली चाँदीका गरगहनाले समुदायको इतिहास बोकेको बताइन् ।
यसैगरी, गोर्खाका सांसद सुधन गुरुङ पनि परम्परागत गुरुङ पोसाकमा संसद्मा देखिए । टोपीमा खुकुरीको आकृति झल्काउँदै उनले सांस्कृतिक पहिचान झल्काएका थिए । “जनताको भावना मर्न दिने छैनौँ,” उनले प्रतिक्रिया दिए ।
दाङकी सांसद भीमकुमारी बुढामगरले मगर समुदायको पुर्खौली पहिरनमा सपथ लिँदै समावेशी लोकतन्त्रको सन्देश दिन खोजेको बताइन् । “सांस्कृतिक महत्व कहिल्यै भुल्नुहुँदैन,” उनले भनिन्, “यही पहिरनमा हुर्किएँ र यही पहिरनमा संसद्मा पुगेँ ।”
रास्वपाका महोत्तरीका सांसद प्रमोदकुमार महतो तराईको पहिचान झल्किने गम्छा, कुर्था–सुरुवाल र शिरमा रातो रुमालसहित उपस्थित भए । उनका अनुसार पहिरनले क्षेत्रीय पहिचानसँगै राष्ट्रिय भावना बलियो बनाउने काम गर्छ ।
त्यस्तै, ट्रान्सजेण्डर समुदायको प्रतिनिधित्व गर्दै सांसद भूमिका श्रेष्ठ नेवार समुदायको ‘हाकुपटासी’ सारी र परम्परागत गहनामा सजिएर संसद्मा पुगेकी थिइन् । उनले समुदायको सम्मानसँगै जनताको सेवा गर्ने जिम्मेवारी अझ महत्वपूर्ण रहेको बताइन् ।
सांसदहरूले विविध समुदायका पहिरनमा देखिएको उपस्थितिले संसद्मा समावेशिता, पहिचान र सांस्कृतिक विविधताको सन्देश थप सशक्त रूपमा उजागर गरेको छ ।




