राजनीति

कांग्रेस एकताका लागि ‘साझा आयोजक समिति’ बनाउन महतको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र देखिएको आन्तरिक विवाद अन्त्य गरी एकीकृत रूपमा अघि बढ्न आउँदो नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

उनले कांग्रेस अहिले इतिहासकै जटिल र चुनौतीपूर्ण मोडमा रहेको उल्लेख गर्दै सबै पक्षलाई समेटेर साझा स्वामित्व सुनिश्चित नगरेसम्म पार्टी बलियो बन्न नसक्नेमा जोड दिए ।

संसद्मा कांग्रेसको उपस्थिति ३८ सिटमा सीमित भएको अवस्थालाई उनले ‘अत्यन्त न्यूनतम’ भन्दै यसले पार्टीलाई एकताबद्ध हुन थप दबाब सिर्जना गरेको बताए ।

डा. महतले विगतमा सम्पन्न विशेष महाधिवेशन सबै पक्षको सहभागितामा नभएको र त्यसले अपेक्षित शक्ति दिन नसकेको टिप्पणी गरे । आमनिर्वाचनअघि नयाँ नेतृत्व ल्याउने उद्देश्यले गरिएको विशेष महाधिवेशनले सशक्त परिणाम दिन नसकेको उनको भनाइ छ ।

हालको विवाद समाधानका लागि विगतका कमजोरीमा आरोप–प्रत्यारोप गर्नुभन्दा साझा आधार खोज्नुपर्ने उनले सुझाए ।

नियमित महाधिवेशन सफल बनाउन विशेषमा सहभागी र असहभागी सबै पक्षलाई समेटेर ‘आयोजक समिति’ गठन गर्नुपर्ने उनको प्रस्ताव छ ।

चैत २२ गते अदालतबाट आउन सक्ने निर्णयले कानुनी पक्ष सम्बोधन गरे पनि पार्टी एकताका लागि राजनीतिक संवाद अनिवार्य हुने महतले बताए । सहमतिको वातावरण बनाउन आफू तयार रहेको पनि उनले स्पष्ट पारे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *