काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद नै देशको राजनीतिक संस्कृतिको प्रमुख प्रतिनिधि भएको बताएका छन् ।
बिहीबार सिंहदरबारमा नवनिर्वाचित सांसदहरूको शपथग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले संसदलाई मर्यादित, अनुशासित र प्रभावकारी बनाउन उच्च राजनीतिक संस्कृतिको आवश्यकता औंल्याए ।
उनका अनुसार संसदभित्र देखिने वैचारिक घर्षणलाई सन्तुलित ढंगले व्यवस्थापन गर्नु सभामुखको मुख्य जिम्मेवारी हो । सभामुखले समन्वयकारी भूमिका निर्वाह गर्दै सांसदहरूको विशेषाधिकारको रक्षा, संसदको गरिमा कायम तथा बहस, प्रतिवाद र संवादलाई निष्पक्ष रूपमा सञ्चालन गर्नुपर्ने उनले बताए ।
केसीले सभामुख संसदको प्रवक्ता तथा संसदीय अधिकारको प्रमुख रक्षक भएको उल्लेख गर्दै पारदर्शिता, अनुशासन र मर्यादा कायम गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले सभामुखले संविधान, प्रतिनिधिसभा नियमावली तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय संसदीय मान्यताका आधारमा निर्णय लिनुपर्ने बताए ।
सभामुख कुनै एक दल वा पक्षको नभई सम्पूर्ण प्रतिनिधि सभाको साझा पद भएको उल्लेख गर्दै उनले सबै पक्षलाई समेट्ने, एकता कायम गर्ने र निष्पक्ष व्यवहार देखाउने व्यक्ति सभामुख हुनुपर्ने धारणा राखे ।
उनले आफूले सभामुख चयन नभएसम्म बैठक सञ्चालन गर्दा पदको मर्यादा कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।
ज्येष्ठ सदस्य केसीले बिहीबार नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई शपथ गराएका थिए । सभामुख चयन नभएसम्म उनले नै प्रतिनिधि सभाको बैठक सञ्चालन गर्नेछन् ।




