खेलकुद

प्रधानमन्त्री कप : आर्मीको लगातार दोस्रो जित

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि ७ विकेटको जित दर्ता गरेको छ । तल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको गण्डकीले ४९.४ ओभरमा अलआउट हुँदै २०९ रन बनाएको थियो ।

गण्डकीले दिएको २१० रनको विजयी लक्ष्य पछ्याएको आर्मीले ३४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । आर्मीको जितमा ओपनरद्वय विनोद भण्डारी र तृतराज दासले ११० रनको शतकीय साझेदारी गरेका थिए । विनोद भण्डारीले ५८ रनको अर्धशतकीय पारी खेले । अर्का ओपनर तृतराज दासले ५१ रनको पारी खेले ।

भिम सार्की र कुशल मल्लले चौथो विकेटको लागि पुन अविजित शतकीय साझेदारी गर्दै टिमको जित सुनिश्चित गरेका हुन् । भिम सार्की ५४ र कुशल मल्ल ४३ रनमा अविजित रहे । गण्डकीको लागि बलिङतर्फ सुवास भण्डारीले २ र कप्तान विपिन खत्रीले १ विकेट लिए ।

त्यसअघि, ब्याटिङ गरेको गण्डकीको लागि अर्जुन कुमालले १०२ बलमा ४ चौका र १ छक्कासहिहत ६७ रनको अर्धशतकीय पारी खेले ।

बंश क्षेत्रीले १०, सिविन श्रेष्ठले १४, दिपक डुम्रेले ४५ बलमा ३ चौका र २ छक्कासहित ५१ रनको अर्धशतकीय पारी खेलेका हुन् । सन्देश पन्थीले १३ रन बनाउँदा कृष्ण पौडेलले १७ रन बनाए। सुवास भण्डारी १० रनमा अविजित रहे ।

त्रिभुवन आर्मीको लागि आकाश चन्द र साहब आलमले ३-३ विकेट लिए । कुशल मल्लले २ विकेट लिए । गण्डकी प्रदेश र त्रिभुवन आर्मी दुवैको प्रतियोगितामा दोस्रो खेल थियो । पहिलो खेलमा आर्मीले नेपाल पुलिसलाई २२ रनले हराएको थियो । गण्डकी प्रदेशले भने पहिलो खेलमा बागमती प्रदेशसँग १७० रनको हार बेहोरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *