काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणामबाट निराश नभई देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज शपथ लिएलगत्तै पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदलाई जनहित र राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यसअघि पनि पार्टीले देश र जनता पक्षमा काम गरेको स्मरण गराउँदै आगामी दिनमा पनि मुलुकको समृद्धिका पक्षमा काम गर्नुपर्नेमा जोड दिए । उनले आफूहरू सत्य, समृद्धि र विकासको मार्गमा रहेकाले आफूविरुद्ध हुनसक्ने गलत प्रचारविरुद्ध दृढतापूर्वक सामना गर्दै अघि बढ्नुपर्ने बताए ।
“हामीविरुद्ध तथ्य र तर्कमा आधारित नभई असभ्य र भ्रमपूर्ण रूपमा प्रहार हुनसक्ने भएकाले त्यसको डटेर सामना गर्न एकजुट हुनुको विकल्प छैन । अहिले नै हामीले हरेस खानुपर्ने कुनै आवश्यकता छैन । हामी सत्यको मार्गमा थियौँ, छौँ र रहनेछौँ”, उनले भने “यस अवस्थामा हाम्रो पार्टी एकताबद्ध र एक ढिक्का भएर अगाडि बढ्नुपर्छ । पार्टीका नीति र निर्णयबमोजिम अनुशासित भएर नेता र सांसद प्रस्तुत हुनुपर्छ ।”
अध्यक्ष ओलीले अहिले विश्व राजनीतिमा अराजकता हाबी भएको भन्दै संयुक्त राष्ट्रसङ्घजस्ता निकाय निष्प्रभावी भएका बताए । कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, महासचिव शङ्कर पोखरेल, सचिव पद्मा अर्याललगायत सहभागी थिए ।




