देश

आन्दोलनपछि क्षतिग्रस्त संसद् भवन, सभा सञ्चालनमा ‘विलखबन्धन’ परेको खुलासा

काठमाडौं । सङ्घीय संसद् सचिवालयले जेनजी आन्दोलनका कारण संसद् भवन क्षतिग्रस्त हुँदा सभा सञ्चालनमा गम्भीर कठिनाइ भोग्नुपरेको जनाएको छ। महासचिव पद्मप्रसाद पाण्डेयले नवनिर्वाचित सांसदहरूको शपथ समारोहका क्रममा यस्तो जानकारी गराएका हुन्। सिंहदरबारस्थित अस्थायी सभा हलमा आयोजित कार्यक्रममा उनले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन आन्दोलनका क्रममा क्षति पुगेर प्रयोगयोग्य नभएको बताए। निर्माणाधीन नयाँ भवनसमेत समयमै तयार नभएकाले सचिवालय ‘विलखबन्धन’मा परेको उनको भनाइ थियो।

महासचिव पाण्डेयका अनुसार वैकल्पिक व्यवस्था खोज्न विभिन्न निकायसँग पटक–पटक छलफल, पत्राचार र दबाबमूलक पहल गरिए पनि निर्माणाधीन भवन समयमै उपलब्ध हुन सकेन। त्यसपछि बहुउद्देश्यीय हललाई नै अस्थायी रूपमा तयार गरी शपथ तथा प्रारम्भिक सभा सञ्चालन गरिएको हो। हतारमा तयार गरिएको हलमा केही कमजोरी हुन सक्ने स्वीकार गर्दै उनले त्यसप्रति सचिवालयको तर्फबाट क्षमायाचना पनि व्यक्त गरे।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी हुँदा संरचना ध्वस्त बनेको थियो, जसले संसद् सञ्चालनमा दीर्घकालीन प्रभाव पार्ने देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *