काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबीचको सक्रिय समन्वय झल्किने गरी तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र विभिन्न उच्च सुरक्षा अधिकारीबीच दुई दिनमै ११५ पटक फोन सम्पर्क भएको तथ्य सार्वजनिक भएको छ। जाँचबुझ आयोगको प्रतिवेदनअनुसार भदौ २३ र २४ गतेको अवधिमा खापुङले सबैभन्दा बढी सम्पर्क विश्व अधिकारीसँग गरेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुखसमेत रहेका अधिकारीसँग दुई दिनमा ४२ पटक संवाद भएको उल्लेख छ।
त्यसैगरी कार्य विभागका एआईजी सिद्धिविक्रम शाहसँग २८ पटक सम्पर्क भएको देखिएको छ। उपत्यका प्रहरी कमान्ड सम्हालेका एआईजी दानबहादुर कार्कीसँग ४ पटक, मुख्य सचिव एकनारायण अर्यालसँग ३ पटक र तत्कालीन गृहमन्त्रीका स्वकीय सचिव जनक भट्टसँग पनि ३ पटक कुराकानी भएको प्रतिवेदनमा उल्लेख छ।
उच्च राजनीतिक नेतृत्वसँगको सम्पर्क पनि उल्लेख्य देखिएको छ। तत्कालीन सभामुख देवराज घिमिरेसँग १ पटक, पूर्व गृहमन्त्री रमेश लेखकसँग ८ पटक तथा सशस्त्र प्रहरी प्रमुख राजु अर्यालसँग २ पटक सम्पर्क भएको देखिएको छ।
त्यस्तै, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी ओम रानासँग दुई दिनमा ११ पटक संवाद भएको छ भने तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग ९ पटक सम्पर्क भएको विवरण छ।
यसैगरी, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसँग १ पटक र प्रधानसेनापति अशोक सिग्देलसँग २ पटक फोन सम्पर्क भएको प्रतिवेदनले देखाएको छ।
आयोगले यी सम्पर्क विवरणलाई आन्दोलनको समयमा सुरक्षात्मक समन्वय र निर्णय प्रक्रियासँग जोडेर विश्लेषण गरेको जनाएको छ।




