देश

१६ वर्षपछि दरवाङ–फुलबारी सडक स्तरोन्नति सुरु

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकास्थित दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडक १६ वर्षपछि स्तरोन्नति कार्य सुरु गरिएको छ ।

गाउँपालिकाले सडकअन्तर्गत बतासे–फुलबारी खण्डमा स्तरोन्नति आयोजना अघि बढाएको हो । विसं २०६६ मा ट्र्याक खुलेको यो सडक हालसम्म सामान्य मर्मतकै भरमा सञ्चालन हुँदै आएको थियो ।

प्रदेश समपूरक कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा रु. एक करोड बजेट विनियोजन गरिएको यस आयोजनाको निर्माणका लागि मंगला कन्ट्रक्सन, बाबियाचौरसँग रु. ६५ लाख २३ हजार ४३२ मा गत माघ २६ गते ठेक्का सम्झौता गरिएको छ ।

आगामी असार १५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाअन्तर्गत हाल डोजर प्रयोग गरी सडक फराकिलो बनाउने काम तीव्र पारिएको छ । निर्माण कम्पनीका प्रतिनिधि चक्रलाल पाण्डेका अनुसार अहिले ३.५ देखि ४ मिटर चौडाइ रहेको सडकलाई कम्तीमा ६ मिटर विस्तार गर्न भित्ता काट्ने काम भइरहेको छ ।

सडक फराकिलो पारिसकेपछि करिब ५०० मिटर क्षेत्रमा नाली, ग्रेड सुधार, घुम्ती व्यवस्थापन, ग्यावियन र पलम पर्खाल निर्माण तथा ढलान गरिनेछ ।

गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख दीपक सापकोटाका अनुसार आयोजनाअन्तर्गत ११ हजार घनमिटर भित्ता काट्ने, ४४५ घनमिटर ग्यावियन पर्खाल, २५४ घनमिटर नाली, २५० घनमिटर ढलान र २७ घनमिटर पलम पर्खाल निर्माण गरिनेछ ।

यसअघि गत वर्ष थापाचौरदेखि देविस्थान जाने घुम्तीसम्मको खण्ड स्तरोन्नति गरिएको थियो । उक्त सडक मालिका गाउँपालिकाका वडा नं. ४, २ र ३ का साथै बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाका लागि प्रमुख आवागमन मार्ग हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकालले यस आयोजनालाई चालु आर्थिक वर्षको प्राथमिकताप्राप्त योजनामध्ये एक भएको जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *