काठमाडौँ।प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज देशभर नवदुर्गा भगवतीको पूजा–आराधना गरी श्रद्धापूर्वक मनाइँदैछ।
वर्षमा चार नवरात्र पर्ने भए पनि आषाढ र पौष शुक्ल पक्षका नवरात्र खासै प्रचलनमा छैनन्। तथापि केही साधकले ती समयहरूमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्ने गर्छन्।
आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदादेखि नै घटस्थापना गरी जमरा राख्ने परम्परा रहेको छ। यसै कारण उक्त नवरात्रलाई बडादशैँ भनिन्छ। बडादशैँको दशमी तिथिमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने चलन छ, जुन पूर्णिमासम्म जारी रहन्छ।
चैते दशैँमा भने यस्तो परम्परा धेरै परिवारमा प्रचलित छैन। तर हनुमानढोका दरबारस्थित दशैँघरमा घटस्थापना गरी विधिवत् पूजा–आराधनासहित अष्टमीका दिन बलि दिने चलन अझै कायम छ। यस पर्वमा अष्टमी र नवमीलाई विशेष महत्त्वका साथ मनाइन्छ।
अष्टमीलाई चैते दशैँका रूपमा तथा नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्र भगवान् श्रीरामको जन्मदिनका रूपमा ‘रामनवमी’ मनाउने गरिन्छ।
विगतका वर्षहरूमा चैते दशैँका अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको ठूलो भीड लाग्ने गर्थ्यो। तर महामारीका बेला धर्मशास्त्रविद्हरूले घरमै बसेर मानसिक रूपमा पूजा–आराधना गर्न सकिने बताएका छन्।
“वेदमा ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैभन्दा पहिले आफ्नो शरीरको रक्षा गर्नुपर्छ भन्ने सन्देश दिइएको छ। त्यसैले महामारीका समयमा घरमै पूजा गर्नु उपयुक्त हुन्छ,” धर्मशास्त्रविद्हरूको भनाइ छ।
बडादशैँजस्तै चैते दशैँको पूजा–उपासनाको मुख्य उद्देश्य पनि यस लोकमा सुख, शान्ति र समृद्धि तथा परलोकमा सद्गति प्राप्ति हो।
चैते दशैँका अवसरमा उपत्यकास्थित गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवी लगायत शक्तिपीठहरूमा विशेष पूजा गरिन्छ।
त्यसैगरी उपत्यका बाहिर पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठहरूमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा हुने गर्छ।
धार्मिक विश्वासअनुसार यस अवसरमा शक्तिपीठहरूमा पूजा–आराधना तथा दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने मान्यता रहेको छ।




