देश

५४ दिन बित्दा पनि सिरहा हत्या प्रकरणका दोषी अज्ञात, परिवारमा निराशा

सिरहा। माघ १६ गते सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा भएको हत्या घटनाका दोषी अझै पत्ता लाग्न सकेका छैनन्। खेत जोतिरहेका बेला सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो।

मृतकका दुई नाबालक छोरा रहेका छन्। परिवारको मुख्य सहारा गुमेपछि उनीहरूको अवस्था दयनीय बनेको छ। कक्षा १० मा अध्ययनरत जेठो छोरा रामजनम यादवले बुवाको मृत्युले आफ्नो र भाइको भविष्य अन्योलमा परेको बताए।

घटनाको ५४ दिन बितिसक्दा पनि मुख्य दोषीको पहिचान हुन नसक्दा पीडित परिवारमा निराशा र आक्रोश बढ्दै गएको छ। मृतकका भाइ अभयनाथ यादवले प्रहरीले अनुसन्धान भइरहेको भन्दै मात्रै टार्ने गरेको आरोप लगाउँदै असन्तुष्टि जनाए।

प्रहरीले घटनापछि प्रत्यक्षदर्शी रामविलास यादव र रामप्रसाद महरालाई नियन्त्रणमा लिएर सोधपुछ गरे पनि २३ दिनपछि उनीहरूलाई रिहा गरेको थियो। हालसम्म १४ जना शंकास्पद व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याएर सोधपुछ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वासुदेव पाठकका अनुसार घटनाको गम्भीरतालाई ध्यानमा राख्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)सँग समन्वय गरी अनुसन्धान अघि बढाइएको छ। उनका अनुसार केही महत्वपूर्ण सूचना प्राप्त भइसकेको र शंकास्पद व्यक्तिहरू निगरानीमा रहेकाले दोषी चाँडै पक्राउ पर्ने विश्वास गरिएको छ।

पीडित परिवारले यथाशीघ्र दोषी पत्ता लगाई कानुनी कारबाही गर्न माग गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *