देश

कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आउन सकेनन्

चितवन । जिल्लामा कोभिड महामारीका कारण बन्द भएका यहाँका १६ इँटा उद्योग अझै सञ्चालनमा आउन सकेका छैननन् । कोभिडका कारण बन्द भएका उद्योगमध्ये दुई मात्र सञ्चालनमा आएका छन् ।

चितवन इँटा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार कोभिडपछि बन्द भएका दुई उद्योग मात्र पुनः सञ्चालनमा आएका हुन् ।

रत्ननगरको पिठूवास्थित नवदुर्गा इँटा उद्योग र राप्तीको चैनपुरस्थित अनमोल इँटा उद्योग पुनः सञ्चालनमा आएका हुन । विसं २०४० तिरबाट जिल्लामा व्यावसायिक इँटा उत्पादन थालिएको जनाइएको छ ।

उनले भने, ‘कुनै बेला जिल्लामा ४० वटासम्म इँटा उद्योग थिए ।’ कोभिडपछि बन्द भएका उद्योगमध्ये गत वर्ष नवदुर्गा र यस वर्ष अनमोल पुनः सञ्चालनमा आएको हो । अध्यक्ष सापकोटाका अनुसार पूर्वबाट यहाँ आउने इँटाको अस्वस्थ प्रतिस्पर्धा, माटो, कोइला र जनशक्तिको अभावलगायतका कारण उद्योग बन्द भएका हुन् ।

उनले भने, ‘बाँकी उद्योग कतिपयले भाडाको जग्गा सम्याएर छाडेका छन् । कतिपयले जग्गा बिक्री गरेर ऋण तिरे । अब उद्योग खुल्दैन ।’ अहिले पूर्वबाट आउने इँटाको भरमा यहाँ भौतिक पूर्वाधार निर्माणका कामहरु भइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *