काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब सडकबाटै सरकार सञ्चालन गर्ने बताएका छन्।
बुधबार आयोजित बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा उनले राजनीतिक अभियानलाई सशक्त बनाउने घोषणा गर्दै जनताको अभिमत सडकबाटै कार्यान्वयन गर्ने दाबी गरे।
घिसिङले देशको स्थायित्व र समृद्धिका लागि जनताले दिएको करिब दुईतिहाइ बहुमतको म्यान्डेट सबैले स्वीकार गर्नुपर्ने उल्लेख गरे। उनले उक्त जनादेश उज्यालो नेपाल पार्टीलाई सडकबाटै सरकार सञ्चालन गर्न दिएको दाबी गर्दै पार्टीलाई ‘सडकको सरकार’का रूपमा स्थापित गर्ने बताए।
उनले पार्टी गठनको तीन महिनामै निर्वाचनमा सहभागी हुनुपर्ने अवस्था आएको स्मरण गर्दै छोटो समयमा देशभर उम्मेदवारी दिन सफल भएको बताए। अन्य दलसँगको सहमतिका क्रममा केही अलमल भए पनि संगठन विस्तारमा सफलता हासिल भएको उनको भनाइ छ।
निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसके पनि राजनीतिक रूपमा आफूहरू विजयी रहेको उनको दाबी छ। “जित्न नसक्दा पनि हारेर जितेको पार्टी उज्यालो नेपाल हो,” उनले भने।
कार्यक्रममा उनले सातै प्रदेशमा भेला सम्पन्न गरेपछि जिल्ला, पालिका र वडा तहसम्म संगठन विस्तार गर्ने योजना रहेको जानकारी दिएका छन्।




