मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब देखिँदै जाँदा जापानले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) लाई आवश्यक परे थप तेल भण्डार बजारमा ल्याउन तयार रहन आग्रह गरेको छ । यसले सम्भावित आपूर्ति सङ्कटलाई समयमै नियन्त्रण गर्ने प्रयासका रूपमा हेरिएको छ ।
टोकियोमा बोल्दै आइइएका प्रमुख फातेह बिरोलले पनि परिस्थितिअनुसार थप भण्डार सार्वजनिक गर्न एजेन्सी तयार रहेको सङ्केत गर्नुभयो । उहाँले हालसम्म उपलब्ध भण्डारको ठूलो हिस्सा अझै सुरक्षित रहेको उल्लेख गर्दै आवश्यक परे थप कदम चाल्न सकिने बताउनुभयो । “हाम्रो कुल भण्डारको करिब ८० प्रतिशत अझै सुरक्षित छ, अहिलेसम्म जारी गरिएको ४० करोड ब्यारेल त केवल २० प्रतिशत मात्र हो”, उहाँले स्पष्ट पार्नुभयो, “आवश्यकता परे हामी अघि बढ्न तयार छौँ, तर यस्तो अवस्था नआओस् भन्ने अपेक्षा पनि छ ।”
यसअघि जापानी प्रधानमन्त्री साने ताकाइचीले मध्यपूर्वको अस्थिर अवस्थालाई ध्यानमा राख्दै आइइएलाई थप ‘समन्वित रिलीज’ कार्यान्वयन गर्न तयार रहन आग्रह गर्नुभएको थियो । ऊर्जा आपूर्ति अवरुद्ध हुने जोखिम बढिरहेका बेला यस्तो कदमलाई सावधानीपूर्ण रणनीतिका रूपमा लिइएको छ ।
आइइएले यसै महिनाको सुरुआतमा आफ्ना सदस्य राष्ट्रहरूसँग मिलेर करिब ४० करोड ब्यारेल तेल भण्डार बजारमा ल्याउने निर्णय गरेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो समन्वित रिलीज मानिएको छ । यसले मध्यपूर्वमा जारी द्वन्द्वका कारण उत्पन्न आपूर्ति दबाब कम गर्ने उद्देश्य राखेको थियो ।
बिरोलले विश्वले गम्भीर ऊर्जा सुरक्षा चुनौती सामना गरिरहेको उल्लेख गर्दै आइइए आफ्नो भूमिकामा सक्रिय रहने बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय ऊर्जा बजारमा स्थिरता कायम राख्न एजेन्सीले आवश्यक समन्वय गर्न तयार छ ।
जापानका लागि ऊर्जा सुरक्षाको विषय अझ संवेदनशील छ, किनकि यो मुलुक आफ्नो करिब ९५ प्रतिशत तेल आयातका लागि मध्यपूर्वमा निर्भर छ । यस कारण टोकियोले आन्तरिक रूपमा पनि आपतकालीन तयारी तीव्र बनाएको छ ।
सरकारले गत साता निजी क्षेत्रको १५ दिन बराबरको पेट्रोलियम भण्डार बजारमा ल्याउन सुरु गरेको छ भने बिहीबारदेखि सरकारी भण्डारसमेत प्रयोगमा ल्याउने तयारी गरिएको छ । यसका साथै महिनाको अन्त्यसम्ममा जापानमा उत्पादक राष्ट्रहरूले राखेका संयुक्त भण्डारबाट पनि तेल निकाल्ने योजना रहेको प्रधानमन्त्री ताकाइचीले जानकारी दिनुभयो ।
जापान पेट्रोलियम एसोसिएसनका अनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स र कुवेतले जापानमा संयुक्त भण्डार राखेका छन् । सामान्य अवस्थामा यी भण्डारहरू व्यावसायिक रूपमा प्रयोग गरिने भए पनि आपतकालीन परिस्थितिमा जापानी कम्पनीहरूले प्राथमिकताका आधारमा खरिद गर्न पाउने व्यवस्था रहेको छ ।




