काठमाडौँ । नेपाली मूलका व्यवसायी शेष घले र जमुना गुरुङ फेरि अष्ट्रेलियाका धनी व्यक्तिहरूको सूचीमा परेका छन् । उनीहरूले पछिल्लो ‘रिच लिस्ट’मा क्रमशः १५०औँ र १५१औँ स्थान हासिल गरेका छन् ।
सन् २००९ मा पहिलोपटक शीर्ष २५० सूचीमा प्रवेश गरेदेखि यो जोडीले लगातार १८ वर्षसम्म सूचीमा आफ्नो उपस्थिति कायम राख्दै आएको छ। उनीहरू आफ्नो उत्कर्षमा ८०औँ स्थानसम्म पुगेका थिए । घले–गुरुङ दुवै अर्बपति वर्गमै रहँदै आएका छन्। उनीहरूको कुल सम्पत्ति करिब १.२ अर्ब अमेरिकी डलर आँकलन गरिएको छ, जसले अष्ट्रेलियाको प्रतिस्पर्धी व्यावसायिक वातावरणमा उनीहरूको निरन्तर सफलतालाई देखाउँछ ।
वैश्विक उपलब्धिका बाबजुद उनीहरूले नेपालसँगको सम्बन्ध मजबुत बनाइरहेका छन्। विगत एक दशकदेखि उनीहरूले नेपालमा लगानी तथा परोपकारी क्षेत्रमा चासो देखाउँदै आएका छन् । उनीहरूको निरन्तर सक्रियताले राष्ट्रिय विकासमा नेपाली डायस्पोराको भूमिकाबारे बहसलाई पुनः जीवित बनाएको छ।




