काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्बन्धी सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
यो रिट सोमबार र मंगलबार न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा ‘हेर्दाहेर्दै’मा राखिएको थियो।यसअघि न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले तीन दिनसम्म बहस सुनेपछि फाइल झिकाउने आदेश दिएको थियो।
अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफललगायतले महान्यायाधिवक्ताको कार्यालयको निर्णय बदरको माग गर्दै रिट दायर गरेका हुन्। रिटमा महान्यायाधिवक्ता कार्यालय, विभिन्न सरकारी वकिल कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।
रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग कमजोर नबनाउन तथा कानुनी प्रक्रियामा अवरोध नगर्न परमादेश माग गरेका छन्।
महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयले उनलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्न सहज हुने अवस्था सिर्जना गरेको भन्दै आलोचना भएको छ।




