सम-सामयिक

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ। आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा विश्वभर जीवनरक्षक कार्यमा संलग्न कर्मचारीहरूको संरक्षणका लागि प्रतिबद्धता व्यक्त गर्दै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् १९८५ मा अपहरणमा परेका एलेक कोलेटको स्मृतिमा हरेक वर्ष मार्च २५ मा यो दिवस मनाइन्छ । कोलेट राष्ट्रसङ्घका राहत तथा कार्य निकाय (युएनआरडब्ल्युए) सँग आबद्ध पत्रकार हुनुहुन्थ्यो । उहाँलाई सशस्त्र समूहले अपहरण गरेको थियो । उहाँको शव सन् २००९ मा लेबनानको बेक्का उपत्यकामा फेला परेको थियो ।

सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घ स्थापना भएयता यसको सेवामा खटिएका सयौँ कर्मचारीले ज्यान गुमाइसकेका छन् । विशेषगरी सन् १९९० को दशकमा शान्ति स्थापना ‘मिसन’हरूको विस्तारसँगै जोखिम बढ्दा अघिल्ला चार दशकको तुलनामा सो दशकमा धेरै कर्मचारीको ज्यान गएको थियो ।

यस अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जोखिमपूर्ण परिस्थितिमा काम गर्ने कर्मचारी तथा शान्ति सैनिकलाई आवश्यक सुरक्षा र अनुकूल कार्य वातावरण सुनिश्चित गर्न अन्तरराष्ट्रिय समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *