काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे बस्ने भएको हो।
मंगलबारदेखि जारी बैठकका एजेन्डामाथि केन्द्रीय सदस्यहरू बोल्ने क्रम बाँकी भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए। उनका अनुसार, बैठकमा मंगलबार २८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्।
बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औँ महाधिवेशन तयारी, उमेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिलगायत विषयमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने प्रवक्ता चालिसेले बताए।
मंगलबारको बैठकको सुरुमा सभापति गगनकुमार थापाले आगामी भदौ २४–२६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए।




