काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर सयौँ युवालाई ठगी गरेको आरोपमा चलचित्र तेल भिसा का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भूबाट नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ।प्रहरीका अनुसार कार्कीले विदेश पठाइदिने आश्वासन दिँदै करिब २५० जनाबाट रकम उठाएको आरोप छ।
तीमध्ये १०० भन्दा बढी पीडित प्रहरीको सम्पर्कमा आइसकेका छन् भने थप उजुरी आउने क्रम जारी रहेको बताइएको छ।
पासाङ नोर्बु तामाङसहितका पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो। कार्कीविरुद्ध वैदेशिक ठगीसम्बन्धी ६ वटा पक्राउ पुर्जी जारी भइसकेका थिए। यसअघि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा पनि दर्ता भएको प्रहरीले जनाएको छ। उनी चाबहिलस्थित ‘पी एण्ड एम इनोभेशन सर्भिस’ नामक कन्सलटेन्सीमार्फत विगत लामो समयदेखि यस्तो गतिविधिमा संलग्न रहेको आरोप छ।
पछिल्लो तीन महिनादेखि उनी भारतको नयाँ दिल्लीस्थित पहाडगञ्ज क्षेत्रमा बस्दै आएका थिए।प्रहरीका अनुसार उनीसँग भारतीय आधार कार्ड र प्यान कार्ड समेत फेला परेको छ। भारतमा उनले ‘अन्नपूर्ण फास्टफुड’ सञ्चालन गरेर बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचल पठाइएको छ।
यो घटनाले फेरि एकपटक वैदेशिक रोजगारीको नाममा हुने ठगीको जालो कति गहिरो छ भन्ने देखाएको छ। विशेषगरी बेरोजगार युवालाई लक्षित गर्दै सञ्चालन हुने यस्ता गिरोहविरुद्ध कडा नियमन र जनचेतना दुवै आवश्यक देखिन्छ। अहिलेको मुख्य प्रश्न ःपीडितले न्याय पाउँछन् कि यस्ता घटनाहरू फेरि दोहोरिन्छन् ?




