काठमाडौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृतिबिना यही १३ गते केन्द्रीय निर्वाचन गर्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई राखेपले मङ्गलबार पुन: २४ घण्टाभित्र कारणसहितको स्पस्टीकरण माग गर्दै पत्र काटेको छ ।
यसअघि राखेपको निर्देशनलाई अटेर गर्दै एन्फाले तय भएको निर्वाचन स्थगित गर्न नसकिने भन्दै राखेपलाई पत्राचार गरेको थियो । एन्फाले राखेपलाई आइतबार लेखेको पत्रमा आफ्नो निर्वाचन राखेपले भनेजस्तो विधानविपरित नभएको उल्लेख गर्दै कुनै पनि हालतमा निर्वाचन स्थगित गर्न नसक्नेसमेत उल्लेख गरेको थियो ।
दुई दिनपछि मङ्गलबार राखेपले एन्फालाई २४ घण्टाभित्र विस्तृत स्पष्टिकरण माग गरेको हो । राखेपको पत्रमा एन्फालाई आवश्यक कागजात, निर्णयको आधार र प्रक्रियागत स्पष्टतासमेत समावेश गर्न निर्देशन दिएको छ ।
यदि एन्फाबाट २४ घण्टाभित्र सन्तोषजनक जवाफ नआए थप प्रशासनिक तथा कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी पनि राखेपले दिएको छ ।
पङ्कज विक्रम नेम्वाङको अध्यक्षतामा रहेको एन्फाले क्लब र जिल्लाको तहगत निर्वाचन नगरी एक्कासि ‘अर्ली इलेक्सन’को नाममा पुरानै प्रतिधिलाई सामेल गराएर निर्वाचन गर्न लागेको भन्दै सरोकारवालाले विरोध गर्दै आएका छन् ।
एन्फाको निर्वाचनको विषयमा उच्च अदालतमासमेत मुद्दा चलिरहेको छ । एन्फाले भने मङ्गलबारदेखि नै सातदोबाटाेस्थित मुख्यालय निर्वाचनका लागि बन्द भएको सुचना निकालेको छ । एन्फाको निर्वाचन झापामा हुँदैछ । झापा अभ्यक्ष नेम्वाङको गृहजिल्ला पनि हो ।






